ट्रेण्डिङ

होमपेज / समाज

उत्कृष्ट कार्यसम्पादन गर्ने श्रमिकलाई कुमाख गाउँपालिकाद्वारा सम्मान

  सल्यान खबर डेस्क २०८३ असार १६ गते मंगलबार २०:२५:३७ मा प्रकाशित

सल्यान, असार १६ । कुमाख गाउँपालिकाले विकास निर्माणका आयोजनामा इमान्दारी, मेहनत, समर्पण र जिम्मेवारीका साथ उत्कृष्ट कार्यसम्पादन गर्ने श्रमिकहरूलाई सम्मान गरेको छ। श्रमको सम्मान गर्दै श्रमिकहरूको मनोबल उच्च बनाउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक उत्कृष्ट श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो।

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम र कुमाख गाउँपालिका गाउँ कार्यपालिकाको साझेदारीमा विनियोजित ९ लाख रुपैयाँको बजेटबाट वडा नं। ५ अन्तर्गत नेटा–बाल्ले सडक खण्डको नेटा–ठुलाखोला सडक निर्माण तथा स्तरोन्नति आयोजना सफलतापूर्वक सम्पन्न भएपछि आयोजना निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने श्रमिकहरूलाई सम्मान गरिएको हो।

आयोजित कार्यक्रममा श्रमिकहरूलाई खादा ओढाएर, टीका लगाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। गाउँपालिकाले श्रमिकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको मेहनतले विकास निर्माणका काम गुणस्तरीय र समयमै सम्पन्न भएको जनाएको छ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी ले श्रम नै विकासको आधार भएको उल्लेख गर्दै विकास निर्माणका हरेक योजनामा श्रमिकहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले इमान्दारी, अनुशासन र जिम्मेवारीका साथ काम गर्ने श्रमिकलाई सम्मान गर्न गाउँपालिका सधैँ तयार रहने बताउँदै आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने श्रमिकलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो।

उपाध्यक्ष लालबहादुर रावत ले श्रमिकको सम्मानले अन्य कामदारलाई पनि जिम्मेवार र गुणस्तरीय रूपमा काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणमा श्रमिकको योगदानको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्का ले सार्वजनिक आयोजनाको सफलता श्रमिकको मेहनतसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्ने श्रमिकलाई सम्मान गर्नु गाउँपालिकाको सकारात्मक अभ्यास भएको बताउनुभयो। उहाँले आगामी योजनाहरूमा पनि पारदर्शिता, गुणस्तर र उत्तरदायित्वलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा योजना शाखा प्रमुख मानबहादुर बुढाथोकी, वडा नं। ६ का वडा अध्यक्ष कर्णबहादुर विक, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कुमाख गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने श्रमिकलाई सम्मान गर्ने अभियानको औपचारिक सुरुवात गरेको जनाएको छ। गाउँपालिकाका अनुसार यस कार्यक्रमले श्रमिकहरूको आत्मविश्वास र मनोबल बढाउनुका साथै समाजमा श्रमप्रतिको सम्मान, जिम्मेवारीबोध र विकास निर्माणप्रतिको सकारात्मक सोचलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। श्रमिकको योगदानलाई राज्य र स्थानीय तहले उचित सम्मान गर्नुपर्ने सन्देशसमेत कार्यक्रमले दिएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top