ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिकामा जुनोटिक रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  सल्यान खबर डेस्क २०८३ जेठ २६ गते मंगलबार १२:४३:३७ मा प्रकाशित

कुमाख, सल्यान | २०८३ जेठ २६

कुमाख गाउँपालिकामा पशुपन्छीबाट मानिसमा सर्न सक्ने जुनोटिक रोगसम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य पशु, मानव र वातावरणबीचको अन्तरसम्बन्धलाई बुझाउँदै जुनोटिक रोगसम्बन्धी जोखिम, रोकथाम तथा नियन्त्रणका उपायबारे स्थानीय तहमा जनचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रममा पशुपन्छी विकास शाखा प्रमुख डा. विष्णु के.सी.ले नेपालमा देखिने प्रमुख जुनोटिक रोगहरू रेबिज, बर्ड फ्लु, ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिसलगायतका रोगहरूको संक्रमण प्रक्रिया, जोखिम समूह तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी दिनुभयो। उहाँले नियमित खोप कार्यक्रम, सुरक्षित पशुपालन अभ्यास, सरसफाइ तथा समयमै रोगको पहिचान गर्न सके जनस्वास्थ्यमा पर्न सक्ने ठूलो जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो।

त्यसैगरी, वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले “जुनोटिक रोग र वातावरणीय सम्बन्ध” विषयमा कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय असन्तुलन, जलवायु परिवर्तन, वन क्षेत्रको क्षय, वन्यजन्तुको बासस्थानमा मानवीय हस्तक्षेप तथा मानव–वन्यजन्तु सम्पर्क बढ्दै जाँदा यस्ता रोग फैलिने सम्भावना बढिरहेको उल्लेख गर्नुभयो। उहाँले वन संरक्षण र वातावरणीय सन्तुलनलाई रोग नियन्त्रणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले जुनोटिक रोगले मानव स्वास्थ्यमा पार्ने असरबारे जानकारी दिँदै ग्रामीण समुदायमा जनचेतनाको कमी, असुरक्षित पशुपालन अभ्यास तथा स्वास्थ्य सेवामा ढिलाइका कारण जोखिम अझ बढ्न सक्ने बताउनुभयो। उहाँले व्यक्तिगत सरसफाइ, सुरक्षित पशु सम्पर्क तथा नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।

कार्यक्रममा अगुवा कृषक मेघराज शाहले स्थानीय किसानहरूको तर्फबाट धारणा राख्दै यस्ता सचेतनामूलक कार्यक्रमहरू वडा तथा टोल स्तरसम्म विस्तार गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो। किसानहरू प्रत्यक्ष रूपमा पशुपालन र कृषिसँग जोडिएकाले यस्ता जानकारी घरघरमा पुग्न आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्का, वडा नं. ६ का अध्यक्ष कर्णबहादुर विकलगायत जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, कर्मचारी, वडा सचिव तथा पालिकाभित्रका अगुवा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई “वन हेल्थ (One Health)” अवधारणाबारे विस्तृत जानकारी दिइएको थियो। पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा बुझ्नुपर्ने आवश्यकतामा जोड दिँदै स्थानीय स्तरमा रोग निगरानी, जनचेतना अभिवृद्धि तथा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमले जुनोटिक रोगको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा एकीकृत र समन्वयात्मक प्रयास अपरिहार्य रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top