ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकामा अपाङ्गता समावेशी स्थानीय समन्वय समितिको पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

  सल्यान खबर डेस्क २०८३ जेठ २२ गते शुक्रबार २२:०७:१५ मा प्रकाशित

राम प्रसाद शर्मा जेठ २२ सल्यान, दार्मा । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सहभागिता तथा समावेशी विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले दार्मा गाउँपालिकामा अपाङ्गता समावेशी स्थानीय समन्वय समितिका पदाधिकारी तथा सरोकारवालाहरूका लागि पालिका स्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

दार्मा गाउँपालिका वडा नं। १ का अध्यक्ष टंकबहादुर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसी प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्द विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका छवटै वडाका वडाध्यक्ष, वरिष्ठ शिक्षा अधिकृत निर्मोद केसीलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानका अध्यक्ष कृष्णबहादुर बुढाथोकीले अपाङ्गताको परिचय, प्रकार तथा वर्गीकरण, समावेशी विकासको अवधारणा तथा स्थानीय समन्वय समितिको भूमिका, काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

त्यसैगरी, मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले मानव अधिकार तथा अपाङ्गता अधिकारसम्बन्धी ऐन, २०७४ का प्रमुख व्यवस्थाबारे सहजीकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र प्रवर्द्धनमा स्थानीय तहको जिम्मेवारीबारे प्रकाश पार्नुभएको थियो।

६५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण दार्मा गाउँपालिकाकी वास सहजकर्ता पुष्पा केसीले गर्नुभएको थियो। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न, स्थानीय तहका नीति तथा कार्यक्रमलाई थप समावेशी बनाउन तथा सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

दार्मा गाउँपालिकाले समावेशी, पहुँचयुक्त तथा अधिकारमैत्री स्थानीय शासन प्रणाली निर्माणका लागि निरन्तर पहल गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक सहभागिता, पहुँच र सशक्तीकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top