ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी ४ दिने कस्टमाइज्ड तालिम सम्पन्न

  सल्यान खबर २०८३ जेठ २२ गते शुक्रबार ०७:३२:३१ मा प्रकाशित

राम प्रशाद शर्मा जेठ २२,सल्यान 
 दार्मा गाउँपालिकामा आधारभूत तह ९कक्षा १–३० मा अध्यापनरत शिक्षकहरूका लागि सञ्चालन गरिएको एकीकृत पाठ्यक्रम सम्बन्धी चार दिने कस्टमाइज्ड तालिम सम्पन्न भएको छ।
दार्मा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा रुम टु रिड र दलित विकास समाज, सल्यानको प्राविधिक सहयोगमा जेठ १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालयका ३१ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

शिक्षकहरूको सिकाइ सहजीकरण क्षमता अभिवृद्धि गर्दै विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, विद्यार्थी केन्द्रित शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन तथा सिकाइ सहजीकरणका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति अध्यक्ष निमबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत रेशम ओली, उपाध्यक्ष जुना मल्ल चन्द, सामाजिक विकास समिति संयोजक पुष्पाञ्जली मगर, रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र ओली तथा दलित विकास समाज, सल्यानका साक्षरता कार्यक्रम संयोजक उमेश खरेललगायतको उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि नै शैक्षिक गुणस्तर सुधारको मुख्य आधार भएको बताउनुभयो। उहाँले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले शिक्षकहरूको क्षमता विकासमा विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। साथै, कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग प्रदान गर्ने रुम टु रिड र दलित विकास समाज, सल्यानप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले यस्ता तालिमले शिक्षकहरूको शिक्षण सीप, कक्षाकोठा व्यवस्थापन क्षमता तथा विद्यार्थी केन्द्रित सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकहरूको पेसागत क्षमता विकास अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा गाउँपालिकाले निरन्तर लगानी र सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।

चार दिनसम्म सञ्चालन भएको तालिममा रोम प्रसाद पाण्डेय, मिनबहादुर वली, लक्ष्मण प्रकाश चन्द तथा वरिष्ठ शिक्षा अधिकृत निर्मोद केसीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको समग्र सहजीकरण वरिष्ठ शिक्षा अधिकृत केसीले गर्नुभएको थियो।

तालिममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान, सीप तथा अनुभवलाई विद्यालयको दैनिक शिक्षण–सिकाइ प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गरी विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। समापन कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

दार्मा गाउँपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको पेसागत विकास तथा बालमैत्री र प्रभावकारी सिकाइ वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top