ट्रेण्डिङ

होमपेज / समाज

दार्मामा मसला तथा सिस्नो प्रशोधन सम्बन्धी १० दिने सीप विकास तालिम सम्पन्न

  सल्यान खबर २०८३ जेठ २० गते बुधबार १३:०६:५९ मा प्रकाशित

सल्यान । दार्मा गाउँपालिकामा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको मसला बनाउने तथा सिस्नो प्रशोधन सम्बन्धी १० दिने सीप विकास तालिम सम्पन्न भएको छ। उपाध्यक्षसँग उद्यमी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिमको समापन एक कार्यक्रमका बीच गरिएको हो।

समापन कार्यक्रममा दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल चन्दले स्थानीय स्तरमा उत्पादन हुने मसला तथा सिस्नोलाई व्यावसायिक रूपमा उत्पादन र बजारीकरण गर्न सके गाउँमै रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो। महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई आयआर्जनसँग जोड्न सीपमूलक तालिम आवश्यक रहेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नुभयो।

कार्यक्रममा दार्मा गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर रावतले तालिमले महिलाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै आर्थिक आत्मनिर्भरताको आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई उत्पादन तथा व्यवसायमा रूपान्तरण गर्न सहभागीहरूलाई उहाँले सुझाव दिनुभयो।

सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य पुष्पाञ्जली मगरले ग्रामीण क्षेत्रमा उत्पादन हुने शुद्ध, अर्गानिक तथा स्थानीय कच्चा पदार्थबाट तयार गरिएका मसला र सिस्नोजन्य उत्पादनको उचित बजारीकरण गर्न सके महिलाहरूको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो।

१० दिनसम्म सञ्चालन भएको तालिममा २१ जना महिलाको सहभागिता रहेको थियो। तालिमका प्रशिक्षक शेरबहादुर बोगटीले सहभागीहरूको उत्साह, लगनशीलता र सिकाइप्रतिको चासो प्रशंसनीय रहेको बताउनुभयो।

दार्मा गाउँपालिकाकी उद्यम विकास सहजकर्ता पुष्पा रोकायका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा सहभागी सबै महिलाहरूलाई समापन समारोहमा प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

गाउँपालिकाले यस्ता सीपमूलक तथा उद्यमशीलता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top