होमपेज / समाज
‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’सहित सल्यानको दार्मा गाउँपालिका– ५ का २६ वर्षीय मदन केसीले लुम्बिनीबाट ‘महान् नेपाल पाँचवर्षे राष्ट्रिय पदयात्रा’ सुरु गरेका छन्। लुम्बिनीमा बुबा तेजु खत्री र आमा लक्ष्मी खत्रीले खादा–टीका लगाइदिएर आशीर्वाद दिएपछि मदनले पदयात्रा सुरु गरेका हुन्।
केसीले नेपाल केवल भौगोलिक देश मात्र नभई इतिहास, संस्कृति, संघर्ष र आशाको राष्ट्र भएको बताउँदै आज पनि नेपालका धेरै गाउँहरू राज्यको ध्यानबाट टाढा रहेकाले त्यसलाई चिनाउन यात्रा सुरु गरेको बताए। नेपाललाई नक्साबाट मात्र नभई पैदल हिँडेर बुझ्ने उनको चाहना छ।
यसअघि उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध थिए। करिब पाँच वर्ष चन्दको सचिवालयमा बसेर आइटी हेरेका उनले राजनीतिबाट मात्रै देश बुझ्न नसकिने बुझेपछि पदयात्रामा लागेको बताए।
केसीले यात्रामार्फत नेपालका सबै जाति, भाषा र संस्कृतिलाई जोड्ने, अनुसन्धान र ज्ञान बटुल्ने बताए। यो अभियानसँग महान् रिसर्च प्रालि जोडिएको र यसले अनुसन्धान, डाटा संकलन तथा डकुमेन्टेसनको काम गर्ने उनले बताए।
पाँच वर्ष दैनिक १५–२५ किलोमिटर हिँडेर स्थानीय समुदायसँग बस्ने, संवाद गर्ने, भिडियो, फोटो र लेखनद्वारा दस्ताबेज बनाउने उनको भनाइ छ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश, कोशी प्रदेशको यात्राका क्रममा दुर्गम गाउँ, ऐतिहासिक स्थल, प्राकृतिक क्षेत्र सबै ठाउँ पुग्ने लक्ष्य राखेको केसीले बताए।





.jpg)