ट्रेण्डिङ

होमपेज / समाज

सल्यान लगायतका विभिन्न जिल्लामा वायु प्रदूषण बढ्दो, सावधानी अपनाउन आह्वान

  सल्यान खबर डेस्क २०८२ फाल्गुण २६ गते मंगलबार २०:१७:२७ मा प्रकाशित

सल्यान आसपासका जिल्लाहरू सुर्खेत जिल्ला र दाङ जिल्ला मा जडान गरिएका वायु प्रदूषण मापन केन्द्रहरूको पछिल्लो तथ्याङ्क अनुसार वायु गुणस्तर सूचकाङ्क (Air Quality Index–AQI) १५१ भन्दा माथि पुगेको देखिएको छ। यो स्तर स्वास्थ्यका दृष्टिले अस्वस्थ मानिने भएकाले यसको प्रभाव आसपासका क्षेत्रहरूमा पनि पर्न सक्ने भन्दै कुमाख गाउँपालिका ले आफ्ना नागरिकलाई आवश्यक सावधानी अपनाउन आह्वान गरेको छ।

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकाङ्क (AQI) को मापदण्ड अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ। हाल देखिएको सूचकाङ्क १५१ भन्दा माथि पुगेकाले वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना बढेको सरोकारवालाहरूले बताएका छन्।

कुमाख गाउँपालिका सल्यानका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जिवन शर्मा का अनुसार सल्यान जिल्लामा हालसम्म वायु प्रदूषण मापन केन्द्र स्थापना नभएकाले जिल्लाको वायु प्रदूषणको यथार्थ तथ्याङ्क सार्वजनिक गर्न सकिने अवस्था छैन। त्यसैले सल्यानको वर्तमान अवस्थाको विश्लेषण गर्दा छिमेकी जिल्लाहरूमा रहेका वायु गुणस्तर मापन केन्द्रहरूको तथ्याङ्कलाई आधार मान्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार पछिल्ला दिनहरूमा सल्यान क्षेत्रमा पनि वायु प्रदूषण बढेको संकेत देखिन थालेको छ। वातावरणमा धुलो तथा धुवाँ बढ्दै जाँदा दृश्यता (भिजिबिलिटी) घट्ने, नाक तथा घाँटी खसखस गर्ने, आँखा पोल्ने जस्ता समस्याहरू स्थानीय स्तरमा देखिन थालेका छन्।

विज्ञहरूका अनुसार पछिल्ला दिनहरूमा देखिएको वन डढेलो, जथाभावी फोहोर तथा कृषिजन्य अवशेष जलाउने, सवारीसाधनबाट निस्कने धुवाँ तथा सडक र निर्माण कार्यबाट उठ्ने धुलो वायु प्रदूषण बढ्नुका प्रमुख कारण हुन्। साथै लामो समयदेखि वर्षा नहुनु पनि वायु प्रदूषण बढ्नुको अर्को मुख्य कारण मानिएको छ। वर्षा नहुँदा वातावरणमा रहेका धुलो तथा प्रदूषक कणहरू सफा हुन नसकी हावामै लामो समयसम्म रहँदा वायु गुणस्तर थप बिग्रिने गरेको वातावरणविद्हरूले बताएका छन्।

त्यसैगरी हावाको बहावमार्फत अन्य देशहरूबाट आउने सीमापार वायु प्रदूषणका कणहरूले पनि स्थानीय वायु गुणस्तरमा प्रभाव पार्ने गरेका छन्। यसका कारण पछिल्ला दिनहरूमा वातावरणमा धुलो र धुवाँ बढ्दै गएको तथा केही स्थानमा दृश्यता समेत कम भएको अवस्था देखिन थालेको बताइएको छ।

वायु प्रदूषणका कारण हावामा रहेका सूक्ष्म कणहरू PM2.5 र PM10 श्वासप्रश्वासमार्फत शरीरभित्र प्रवेश गरी दम, फोक्सोसम्बन्धी समस्या, मुटुरोग तथा आँखा र घाँटीमा जलन जस्ता समस्या उत्पन्न गर्न सक्छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम वा श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिहरूमा यसको असर बढी पर्ने चिकित्सकहरूको भनाइ छ।

यस अवस्थालाई ध्यानमा राख्दै कुमाख गाउँपालिका ले अत्यधिक प्रदूषण भएको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बाहिर निस्कनु परेमा मास्क प्रयोग गर्न तथा संवेदनशील समूहलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै वन क्षेत्रमा आगो नलगाउन, फोहोर जथाभावी नजलाउन र वायु प्रदूषण न्यूनीकरणका लागि सबैले सहयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top