होमपेज / समाज
इन्द्र बुढाथोकी सल्लिबजार ।
बनगाड कुपिण्डे नगरपालिका–६ स्थित सुनौली बजारमा गएराति ग्यास सिलिन्डर विस्फोटपछि आगलागी हुँदा एक किराना तथा नास्ता पसलमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय ४३ वर्षीय धनबहादुर सिंहद्वारा सञ्चालित दीपक किराना तथा नास्ता पसलमा राति करिब १०ः३० बजे आगलागी सुरु भएको हो। प्रत्यक्षदर्शीका अनुसार राति ११ बजेर १९ मिनेट जाँदा पटक–पटक गरी तीन पटक ग्यास सिलिन्डर विस्फोट भएको ठूलो आवाज सुनिएको थियो, जसका कारण आगो निभाउन नजिक जानसमेत कठिन भएको थियो।
आगलागीबाट पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने नजिकै रहेको एक पक्की घरमा आंशिक क्षति पुगेको छ। साथै, पसल नजिकै राखिएको धनबहादुर सिंहको हातेट्याक्टर र उनका ४६ वर्षीय दाइ टिगा बहादुर सिंहको अटो रिक्सा पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनाका बेला घरमा रहेका परिवारका सदस्य र छिमेकीहरू समयमै भागेर ज्यान जोगाउन सफल भएका थिए। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।
आगलागी के कारणले भएको हो भन्ने विषयमा हालसम्म यकिन हुन सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ।





.jpg)