होमपेज / समाज
शारदा नगरपालिका– १३, स्यानीखालकी विष्णु बुढा ७० वर्षकी भइन् । बाल्यकालका केही वर्षबाहेक उनी सधैँ भालेको डाँकोसँगै डोकोमा गाग्री बोकेर पँधेरो धाइरहिन् । तर, ७० वर्षको उमेरमा आएर उनको पिठ्युँले (ढाड) डोको र गाग्रीबाट मुक्ति पाएको छ ।
पाँच सयभन्दा बढी घरधुरी रहेको स्यानीखालमा अहिले लिफ्ट प्रणालीमार्फत घर–घरमा पानी पुगेपछि विष्णुदेवीको मात्रै होइन, स्थानीयकै मुहार उज्यालो भएको छ । जीवनको लामो कालखण्ड खानेपानीका लागि संघर्षमै बिताएकी बुढालाई घरमै पानी आएपछि जीवनकै खुसीको दिन भएको बताइन् ।
त्यसैगरी, अर्का स्थानीय तुलसी रोकालाई पनि वर्षौँसम्म कुवा, खोल्सो, पधेँरो चहारेर पानी बोकेका दिन अझै ताजै छन् । अब भने समय फेरिएको छ । शारदा नदीबाट लिफ्ट प्रणालीमार्फत घर–घरमा धारासहित खानेपानी पुगेपछि पहिलेका सबै दुःख बिर्सिएको रोकाको भनाइ छ । त्यसो त स्यानीखालका पाँच गाउँका पाँच सय घरधुरीका बासिन्दा लामो समय पानीको संकट भोग्न बाध्य थिए ।
पानीको चरम संकट भएपछि यस क्षेत्रलाई नगरपालिकाले केही वर्षपहिले सुक्खा क्षेत्र घोषणा गरेको थियो । तर, शारदा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत वडाका स्यानीखाल, चलाउने पानी, लेकटाकुरा, बागमारे, अत्तरकाँडा, साँझखर्क र जोगीचौरमा लिफ्ट प्रणालीमार्फत खानेपानी योजना सञ्चालनमा आएपछि अहिले स्थानीयमा खुसी छाएको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको करिब सात करोड रुपैयाँ बजेटमा शारदा नदीको मोख्लामा मुहानबाट लिफ्ट प्रणालीमार्फत खानेपानी योजना निर्माण गरिएको छ । मुहानदेखि पाँच सय ५० मिटर उचाइबाट २३ सय मिटर पाइपलाइनमार्फत गाउँमा पानी पुर्याइएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर अनुप श्रेष्ठले बताए ।





.jpg)