होमपेज / समाज
असार ३० – सल्यान।
सल्यानको कुमाख गाउँपालिका–३, रागेचौरमा रहेको हिमालयन बैङ्क कुमाख शाखाले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी र विद्यालयलाई सामग्री प्रदान गरेको छ।
शाखाले जनता माध्यमिक विद्यालय रागेचौरलाई प्रोजेक्टर सेट र इलाका प्रहरी कार्यालय रागेचौरलाई सिसी क्यामेरा सेट हस्तान्तरण गरेको हो। इलाका प्रहरी कार्यालयले बन्गाड कुपिण्डेको भूभागसमेतको सुरक्षा नेतृत्व गर्ने गर्दछ।
हिमालयन बैङ्क कुमाख शाखाका प्रबन्धक नवीन डिसीले सामाजिक उत्तरदायित्व अनुरूप सरकार मातहतका दुई सामाजिक संस्थालाई सहयोग गरिएको जानकारी दिए। “विद्यालयका लागि प्रोजेक्टर र प्रहरीका लागि सिसी क्यामेरा आवश्यक र प्रयोगयोग्य छन्,” उनले बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज रावतले बैंकले दिएको उपकरणले सिकाइलाई प्रविधिसँग जोड्न मद्दत गर्ने विश्वास व्यक्त गरे। “समाज एक–अर्काको परिपूरक हो। यस्तो सहयोगले सिकाइ सहज बनाउँछ,” भन्दै उनले हिमालयन बैङ्कलाई धन्यवाद दिए।
इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले सिसी क्यामेरा सुरक्षा दृष्टिकोणले महत्त्वपूर्ण हुने बताउँदै बजार तथा कार्यालय क्षेत्रमा जडान गरिने जानकारी दिए। उनले समुदाय र प्रहरीबिचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, “सुरक्षामा प्रहरी, समाजमा सहयोग—बैंकले देखाएको सहयोग बैङ्क र समाज दुवैका लागि उपयोगी छ,” भने।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सल्यानका सदस्य तथा रागेचौर बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर रानाले बैङ्कको सहयोगप्रति आभार व्यक्त गर्दै नागरिक सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए।
अनौपचारिक रूपमा सम्पन्न दुवै कार्यक्रममा सहजीकरण जनता मावि रागेचौरका शिक्षक नन्दराम भारतीले गरेका थिए।
कार्यक्रममा शिक्षक अभिभावक सङ्घ अध्यक्ष तथा वडा नं १ का सदस्य डम्बर शाही, विद्यालयका पदाधिकारी, शिक्षक, ग्लोबल आइएमई लघुवित्तका शाखा प्रबन्धक सुनिश शाह, हिमालयन बैङ्कका कर्मचारी चन्द्र प्रकाश रावत, कृष्ण बहादुर राना, भीम बहादुर रावत, प्रहरी अधिकारीलगायतको उपस्थिति रहेको थियो।





.jpg)