ट्रेण्डिङ

होमपेज / समाज

कुमाखमा रिचार्ज पोखरी निर्माण: जल स्रोत संरक्षण र जलवायु अनुकूलनतर्फ सार्थक पहल

  सल्यान खबर डेस्क २०८२ असार २० गते शुक्रबार १३:१३:५५ मा प्रकाशित

कुमाख गाउँपालिका–१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चिसापानीदेखि भेरी माध्यमिक विद्यालय टाट्केसम्मको खानेपानी परियोजना अन्तर्गत तीन वटा रिचार्ज पोखरी निर्माण गरिएको छ। वडाका बेरोजगार श्रमिकहरूको श्रम, रोजगार कार्यक्रमको ज्याला रकम, तथा गाउँपालिकाको साझेदारी बजेट बाट सम्पन्न यो योजना जल स्रोत संरक्षण र भू–जल पुनर्भरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा स्थापित भएको छ।

भू–जल स्तर वृद्धिमा योगदान

खानेपानीको मुहानभन्दा माथिल्लो भागमा निर्माण गरिएका रिचार्ज पोखरीहरूले वर्षा पानीलाई भूमिमा पुनः प्रवेश गराउने माध्यमका रूपमा कार्य गर्छन्। यसले भू–जल स्तरमा वृद्धि ल्याउनेछ र दीर्घकालीन रूपमा खानेपानी स्रोतको संरक्षणमा सघाउने अपेक्षा गरिएको छ।

जलवायु अनुकूलनको स्थानीय अभ्यास

जलवायु परिवर्तनका असरहरू—अनियमित वर्षा, लामो खडेरी, र पानीका स्रोतहरू सुक्नु—को चुनौती सामना गर्न यस्ता साना तर प्रभावकारी संरचनाहरू उपयोगी बताउँछन् कर्णाली प्रदेश सरकार उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल ।यस्ता कार्यक्रम हरू मार्फत स्थानीय स्तरमा जलवायु परिवर्तन अनुकूलन(climate change adaptation) को उत्कृष्ट अभ्यासको रूपमा कुमाख गाउँपालिकाले काम गरिरहेको छ।

अवधारणाबाट कार्यान्वयनतर्फ

योजना अन्तर्गत खानेपानीको मुहानमा नयाँ इन्टेक संरचना निर्माण गरिएको छ भने भेरी माध्यमिक विद्यालय नजिकै पानी सङ्कलन र आपूर्ति व्यवस्थापनका लागि ट्याङ्की निर्माण गरिएको छ। विद्यालयका प्रधानाध्यापक पदम कुमालका अनुसार, अब विद्यालयमा २४ सै घण्टा स्वच्छ खानेपानीको सुनिश्चित आपूर्ति हुने छ।

स्थानीय सरकारको प्राथमिकता

वडा नं१  का वडाध्यक्ष डिल्ली बहादुर रानाले यस्ता परियोजनाहरू रोजगारी सिर्जना, जल स्रोत संरक्षण र जलवायु अनुकूलनलाई एकैसाथ सम्बोधन गर्ने समग्र प्रयासको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता बहु आयामिक कार्यक्रमहरूलाई थप प्राथमिकता दिने बताउनुभयो।

रोजगारी र वातावरणको सहकार्य

कुमाख गाउँपालिकाका रोजगार संयोजक तथा वन, वातावरण तथा जलवायु परिवर्तन शाखा प्रमुख जीवन शर्माले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमलाई हामीले केवल वैकल्पिक रोजगारी सिर्जना गर्ने कार्यक्रमका रूपमा मात्र नभई, प्राकृतिक स्रोत संरक्षण, जलवायु प्रतिरोधात्मक संरचना निर्माण र दिगो विकासका आधार निर्माण गर्ने अवसरको रूपमा पनि उपयोग गरेका छौँ। यस्ता संरचनाहरूले विद्यालय र समुदायको खानेपानी समस्या समाधान गर्न सहयोग त गर्छन् नै, साथै युवाहरूलाई आफ्नै गाउँमै श्रम गरेर जलवायु परिवर्तन अनुकूलनमा सक्रिय योगदान दिन सक्ने वातावरण समेत निर्माण गर्छन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top