होमपेज / समाज
असार १७,सल्यान
सोमबार बेलुका देखि अवरुद्ध राप्ती राजमार्ग झन्डै १२ घण्टा पछि दुई तर्फी सञ्चालनमा आएको छ । राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर – कपुरकोट सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा सोमबार बेलुका ६ बजेदेखि राजमार्ग पूर्ण रुपमा बन्द भएको थियो ।
बेलुका देखिनै पहिरो हटाउने प्रयास गरे पनि पहिरो अस्ने क्रम नरोकिएको र रातिको समयमा काम गर्न कठिनाई भएकाले मंगलबार बिहान देखि मात्र पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सडक विभागको मेसिनले पहिरो हटाएपछि बिहान ८ बजेदेखि यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने जानकारी दिनु भयो । वर्षातको समयमा भएकाले अत्यावश्यक काम बाहेक अन्य काममा हिडडुल नगर्न आग्रह समेत गर्नु भयो । सडक सूचारु भएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेको उहाँको भनाई छ ।
चोरखोलामा पटक पटक पहिरो झर्दा पश्चिम रुकुम, पुर्वी रुकुम, रोल्पा, सल्यान र दाङका यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् ।





.jpg)