ट्रेण्डिङ

होमपेज / समाज

सल्यान छत्रेश्वरीमा साढे एक करोड बढीका खानेपानी योजना निर्माण अन्तिम चरणमा

  सल्यान खबर डेस्क २०८२ असार १२ गते बिहीबार १५:०८:४७ मा प्रकाशित

सल्यान, १२ असार ।

ग्रामीण भेगमा खानेपानी योजनाहरूको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला स्थायी समाधानका लागि सल्यानमा समुदाय स्तरका मर्मतसम्भारकर्तालाई तालिम प्रदान गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले स्थानीय स्तरमै खानेपानी प्रणालीको मर्मत सम्भार तथा व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित तालिम सञ्चालन गरेको हो । 

असार ३ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिमको बिहीबार समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खानेपानीको मर्मत सम्भारमा समुदाय आफैँ सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जनशक्तिले आफ्नै योजना मर्मत गर्न सकेमा मात्र योजना टिकाउ हुन्छ । नयाँ खानेपानी योजना निर्माण सँगै मर्मत गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हाम्रो उद्देश्य हो ।” 

मुहानदेखि मुखसम्म सुरक्षित र स्वच्छ पानी कसरी पुर्‍याउने भन्ने विषयमा ४ वटा खानेपानी योजनाका १२ जना मर्मत सम्भार कार्यकर्ताहरूलाई तालिम प्रदान गरिएको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीर जङ्ग चन्दले जानकारी दिनुभयो । खानेपानी योजना बिग्रँदा तत्काल मर्मत गर्न नसक्दा धेरै दिनसम्म खानेपानीको अभाव खेप्नुपर्ने अवस्था आउनुभएकाले यस्तो समस्यालाई न्यूनीकरण गर्न सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता योजना ९सु स्वा० कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । 

तालिम समापनमा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले मर्मत सम्भारकर्ताहरुको दक्षताले समुदायमा खानेपानीको पहुँच सुनिश्चित हुने र रोजगारी समेत पाउन सकिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले गत वर्ष पनि सञ्चालन भएका योजनाहरूमा मर्मत सम्भारसम्बन्धी तालिम दिइएको भन्दै गाउँपालिकाले खानेपानी, सरसफाइका क्षेत्रमा विभिन्न साझेदार निकायसँगको सहकार्यमा प्राथमिकतासाथ काम गरिरहेको बताउनुभयो । 

 

मर्मतसम्भारकर्ताहरुलाई छत्रेश्वरी, ६ मा सञ्चालन भइरहेको जलुकेखोली पानीखोला खानेपानी योजना स्थलमै तालिम प्रदान गरिएको थियो । प्रशिक्षक ओम प्रकाश जिसीले खानेपानी योजनामा बनाइने रिजर्भ ट्याङ्की, फिल्टर युनिट, वितरण पाइपलाइन जस्ता संरचनाको निर्माण एवं मुहान संरक्षण तथा कुन ठाउँमा कुन सामग्री प्रयोग गर्ने भन्ने व्यावहारिक तथा सैद्धान्तिक पक्षमा तालिम दिइएको बताउनुभयो । 

तालिममा सहभागी धन बहादुर बस्नेत र चेतना विकले तालिमबाट विभिन्न उपकरणहरूको नाम, प्रयोग विधि, नियमित मर्मतका उपाय, आपत्कालीन अवस्थामा मर्मतको प्राथमिकता निर्धारण जस्ता महत्त्वपूर्ण विषयमा जानकारी पाइएको बताउनुभयो । 

छत्रेश्वरी गाउँपालिकामा चालु आर्थिक वर्षमा एक करोड ६१ लाख ३१ हजार बढी लागतमा चार वटा खानेपानी योजनाहरू निर्माणको अन्तिम चरणमा रहेको प्राविधिक सहजकर्ता गम्भीर जङ्ग चन्दले जानकारी दिनुभयो ।  बिउरे खोला दारिम जिउला खानेपानी योजना अन्तर्गत कुल ८१ वटा धारा निर्माण गरिनेछ । उक्त योजनाको लागत ३३ लाख १५ हजार १२५ रुपियाँ रहेको छ । यस्तै ढोरेलाचौरमा लिफ्ट खानेपानी योजना अन्तर्गत दुई वटा नयाँ धारा निर्माण गरिनुका साथै १०४ वटा पुराना धाराको मर्मत सम्भार गरिनेछ । यसका लागि ७० लाख ४३ हजार १८० रुपियाँ लागत अनुमान गरिएको छ ।

उहाँका अनुसार ३८ वटा धारा निर्माण हुने जलुकेखोली पानीखोला खानेपानी योजनामा २३ लाख एक हजार २७६ रुपियाँ लागत रहेको छ भने तामा धारा खानेपानी योजनाको लागत ३४ लाख ७१ हजार ७०९ रुपियाँको लागत रहेको छ । यस योजना अन्तर्गत ४८ वटा धारा निर्माण गरिने छ । 

खानेपानी योजनासँगै छत्रेश्वरीका टोल टोल र बस्ती बस्तीहरूमा सरसफाइ तथा स्वच्छताका विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेको वास इकाई का सामाजिक परिचालक हरिकला विष्टले जानकारी दिनुभयो । 

सु स्वा कार्यक्रम मार्फत छत्रेश्वरी गाउँपालिकाले महिला तथा किशोरीहरूलाई घरमै स्यानिटरी प्याड निर्माण गर्ने सीपमूलक तालिम र  जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि समेत अभिमुखीकरण गरिएको जनाएको छ । 

यस्तै वास क्षेत्रमा सूचनाको अभिलेखीकरण र संस्थागत सुदृढीकरणका लागि १६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई जलस्रोत समितिमा दर्ता गरिएको छ  भने पालिकाभर रहेका ३५ वटा खानेपानी योजनाको पोष टमाटम ९समीक्षा० कार्य पनि सम्पन्न गरिएको वास इकाई ले जनाएको छ । ८ वटा योजनामा क्षमता विकास सम्बन्धी र ६ वटा योजनामा खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम सम्पन्न भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top