होमपेज / समाज
असार ६, सल्यान।
लागू औषध दुरुपयोग र ओसारपसारविरुद्ध एकजुट भएर लाग्नुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा लागू औषध नियन्त्रण सम्बन्धी विषयमा सहभागीहरूले आफ्नो धारणा व्यक्त गरेका हुन्।
जुन २६ मा पर्ने लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले अभियानका रूपमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने बताइन्। उनले समाजमा हुने गलत गतिविधिहरूको विरुद्धमा उभिन र प्रशासनलाई उजुरी दिन आग्रह गरिन्। नागरिकको सुरक्षालाई ध्यानमा राखी उनीहरूले दिएका सूचनाको स्रोत गोप्य राखिने बताइन्।
जिल्ला समन्वय अधिकारी राजन घिमिरेले सामाजिक मूल्य र मान्यताहरू समेट्दै सभ्य समाज निर्माणमा लाग्नुपर्ने धारणा राखे। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले दिवसको बारेमा जानकारी दिँदै प्रहरीले सञ्चालन गरिरहेको सचेतनामूलक अभियानबारे प्रस्तुति दिए। त्यसैगरी, सल्यान अस्पतालका डा। बुद्धिनाथ साहले राम्रो मान्छेहरूका सकारात्मक पक्ष लिनुपर्नेमा जोड दिँदै लागू औषधको नियन्त्रणका लागि सरकार, सरोकारवाला निकाय र समाजसेवी सबैको जिम्मेवारी आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत र विद्यार्थी प्रतिनिधिका रूपमा सल्यान बहुमुखी क्याम्पसका कोषाध्यक्ष अस्मिता बस्नेतले सम्बोधन गरेका थिए।त्यस्तै, अन्तरक्रिया सत्रमा विद्यार्थी प्रशान्त शाह र रेनुका बस्नेत, चालक संघ सल्यानका अध्यक्ष रिजाल, गैसस महासंघका सदस्य धनबहादुर नेपाली, नेपाल औषधि व्यवसायी महासंघ सल्यानका महासचिव गंगाराम डिसी लगायतले सहभागिता जनाएका थिए।
उनीहरूले लागू औषध नियन्त्रणमा अभिभावकहरूलाई पनि सचेत बनाउनु आवश्यक रहेको भन्दै सबै मिलेर यो समस्याको समाधान गर्नुपर्ने बताएका थिए।कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सामाजिक विकास कार्यालयका हरि प्रसाद सापकोटाले गरेका थिए।





.jpg)