ट्रेण्डिङ

होमपेज / समाज

श्रम लागत घटाउन छत्रेश्वरीका किसानलाई मेसिन वितरण

  सल्यान खबर डेस्क २०८२ जेठ २० गते मंगलबार १५:४७:३९ मा प्रकाशित

सल्यान, २० जेठ ।

कृषिमा आधुनिक प्रविधिको प्रवर्द्धन तथा श्रम लागत घटाउने उद्देश्यले सल्यानमा किसानहरूलाई ५० प्रतिशत अनुदानमा खेतबारी जोत्ने मेसिन ९मिनी टिलर० उपलब्ध गराइएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले कृषक समूह, सहकारी तथा व्यवसायीक कृषकहरूलाई ३९ वटा मिनी टिलर वितरण गरेको हो । 

छत्रेश्वरी गाउँपालिका तथा वडा तर्फको कार्यक्रम अनुसार वितरण गरिएका मिनी टिलरले किसानहरूलाई खेतीपातीमा ठुलो सहजता मिल्ने गाउँपालिकाको विश्वास छ । मङ्गलवार भोटेचौरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले किसानहरूलाई मिनी टिलर वितरण गरेका हुन् । 

स्थानीय स्तरमा कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाई छ । सल्यान जस्तो क्षेत्रमा ठुला ट्याक्टरले जमिन जोत्न सम्भव नहुने भएकाले हाते मेसिनले किसानलाई सुविधा दिने भन्दै उनले समूहका सबैले उपयोग गर्न आग्रह गरे । मेसिन प्रयोगको अवस्थाबारे गाउँपालिकाबाट अनुगमन समेत हुने अध्यक्ष बुढाथोकीको भनाई छ । 

यस्तै गाउँपालिका उपाध्यक्ष खत्रीले विगतदेखि नै निरन्तर रुपमा कृषि यान्त्रीकरणमा जोड दिइएको भन्दै उहाँले माग धेरै भएकाले आगामी वर्षमा पनि छुटेका व्यवसायीक समूह तथा किसानलाई वितरण गरिने जनाइन् । 

अझै पनि परम्परागत उपकरणको प्रयोग गर्दै आएका किसानहरूले अब आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादनमा वृद्धि गर्नुपर्छ भन्ने सोच बनाएका छन् । तरकारी उत्पादन कृषक समूह सांघारमुलका सचिव कृपाराम वलीले धेरै समय लगाएर जोत्नुपर्ने जमिन अब हाते ट्याक्टरले केही घण्टामै जोत्न सकिने भन्दै गाउँपालिकाको अनुदानले राहत मिलेको बताए । आफ्नो समूहका किसानले काँक्रा, सिमी, बोडी, खुर्सानी, तिते करेला लगायतका तरकारी खेती गर्दै आएको भन्दै उनले व्यवसायीक कृषिका लागि हौसला मिलेको बताए । छत्रेश्वरी, ७ रावत गाउँका किसान राम बहादुर रानाले खेतबारी जोत्न छिटो छरितो हुने भन्दै आगामी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गरे । 

गाउँपालिकाले कृषक समूह तथा किसानहरुबलाइ दरखास्त आह्वान गरी आयआर्जनमुखी कृषि गर्ने, मेहनती र नियमित रूपमा खेत जोत्दै आएका किसानहरूलाई प्राथमिकतामा राखेर स्थलगत अनुगमन पश्चात् छनोट गरेको कृषि विकास शाखाका प्राविधिक सहायक दीपक पुनले जानकारी दिए । कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम तोकिएको मापदण्ड अनुसार मूल्याङ्कन गरेर कृषि यन्त्र वितरण गरिएको उनको भनाई छ । पुनका अनुसार एउटा मिनी टिलरको कुल मूल्य ४९ हजार ९११ रुपैयाँ रहेको र यसमा कूल लागतको ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको छ भने बाँकी रकम किसानले बुझाएर उपकरण लिएका हुन् । 

मेसिन वितरण कार्यक्रममा किसानहरूले मेशिनको सही प्रयोग, नियमित मर्मत, इन्धनको खपत र सुरक्षाका उपायहरूबारे पनि जानकारी दिइएको थियो । श्रम शक्ति घट्दो अवस्थामा रहेका पहाडी गाउँहरूमा यस्ता कार्यक्रमले कृषकहरूको जीवनस्तरमा सुधार ल्याउनुका साथै उत्पादन वृद्धिमा टेवा पु¥याउने विश्वास लिइएको छ । जोत्ने मेसिन भएपछि खेतबारी बाँझो नहुने भन्दै किसानहरूले खुसी व्यक्त गरेका छन् । हाते ट्याक्टरले खेतबारी जोत्न पाएपछि गोरुले भन्दा छिटो र सजिलो हुने किसानहरूको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top