होमपेज / समाज
जेठ १२,सल्यान
सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते सल्यानको कपुरकोट गाउँपालिका– ५ रिम निवासी ६२ वर्षीया भिमा बुढाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिमाको उपचारका क्रममा नेपालगन्ज स्थित नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।
सल्यान–दाङ जोड्ने वैकल्पिक मोटरबाटो कपुरकोट–लामिडांडा–सातबास खण्डअन्तर्गत कपुरकोट गाउँपालिका, ३ लामिडाँडामा आइतबार लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइते नौमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेहरु ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहराको नेपालगञ्ज उपचार भइरहेको छ । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो ।
सामान्य घाइते ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महताराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्कि सकेको प्रहरीको भनाई छ ।





.jpg)