होमपेज / समाज
सल्यान, ७ जेठ ।
कपुरकोट गाउँपालिकाका विभिन्न वडामा बुधबार बिहान परेको असिना पानीले एक हजार रोपनी क्षेलफलमा लगाएको बेमौसमी तरकारीमा क्षति पु¥याएको छ ।
वर्षातसँगै परेको असिनाले वडा १,२ र ५ मा बढी क्षति गरेको गाउँपालिकाले जनाएको छ । किसानले लगाएको फल्न थालेको तरकारी बोट र रोप्नका लागि राखेको ब्याडमा क्षति पु¥याएको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो ।
भण्डारीले असिनाले तीन वडाका झन्डै एक हजार रोपनी जग्गामा किसानले लगाएको तरकारीमा क्षति पुगेको बताउनु भयो । फलन थालेको बेमौसमी तरकारीमा क्षति पु¥याएपछि स्थलगत अध्ययन र क्षतिको विवरण संकलनको तयारी भइरहेको उहाँको भनाई छ । कति रकम बराबरको क्षति भयो भन्ने कुरा स्थलगत अध्ययनबाट मात्र थाहा हुने भण्डारीको भनाइ छ ।
असिना पानीले विषेशगरी फुल्न लागेका टमाटर, बन्दा, फूलगोपी, खुर्सानी, काँक्रोलगायतका बाली नष्ट गरेको छ ।
झण्डै आधा घण्टासम्म लगातार असिना पानी परेपछि तरकारीमा अत्यधिक क्षति पुगेको प्रदिप बस्नेतले बताउनुभयो । असिनाले टमाटरको पात, डाँठ सबै च्यातिएको छ ।
कृषकहरूले तत्काल क्षतिको मूल्यांकन गरी राहत उपलब्ध गराउन गाउँपालिकासँग आग्रह गरेको उपाध्यक्ष भण्डारीले बताउनुभयो । क्षतिको विवरण पूर्णरुपमा आइनसकेको गाउँपालिकाले जनाएको छ । साना किसानहरूको मुख्य आयस्रोत नै तरकारी खेती भएकाले यो क्षतिले उनीहरूको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ ।





.jpg)