ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा पठन सिप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

  सल्यान खबर डेस्क २०८२ बैशाख २६ गते शुक्रबार २१:१३:२७ मा प्रकाशित

सल्यान, २६ वैशाख ।

सल्यानमा एकीकृत पाठ्यक्रममा आधारित प्रारम्भिक तहका बालबालिकामा पठन सिप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमका बिच श्रीनगरमा तालिमको समापन गरिएको हो । 

प्रशिक्षक प्रशिक्षक तालिम प्राप्त १६ जना शिक्षक तथा साक्षरता सहजकर्ताहरूले प्रारम्भिक तहका अन्य शिक्षकहरूलाई तालिम दिन सक्ने दक्षता हासिल गरेको साक्षरता कार्यक्रम सल्यानले जनाएको छ । सामुदायिक विद्यालयमा प्रारम्भिक तहका बालबालिकाको पठन सिपमा गुणात्मक सुधार गर्नका लागि भन्दै यस प्रकारको तालिम सञ्चालन गरिएको हो । 

तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले तालिम पश्चात् शिक्षकहरूले कक्षामा सिकाउने शैलीमा परिवर्तन हुने अपेक्षा गरे । साक्षरता कार्यक्रमले आफ्नो पालिकामा सकारात्मक परिणाम दिएको भन्दै पालिकाका सबै विद्यालयमा साक्षरता कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए । यस्तै दलित विकास समाज सल्यानका सदस्य सालिकराम नेपालीले तालिममा सिकेका कुरा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट रूपले लागू गर्नुपर्ने धारणा राखे । 

तालिममा सहभागी शिक्षकहरू बनगाड कुपिण्डे नगरपालिकाका पुष्कर बिसी, छत्रेश्वरी गाउँपालिकाका टेकनारायण लम्साल, त्रिवेणी गाउँपालिकाका मुना रेग्मी लगायतले बोल्दै कक्षा कोठामा सिकाइ क्रियाकलाप अझै प्रभावकारी, व्यवहारिक, वैज्ञानिक र समय सान्दर्भिक तरिकाले सञ्चालन गर्न भूमिका खेल्न सक्ने आँट आएको बताएका थिए । 

यसबाट विद्यालयमा पठन सिप सुधार सम्बन्धी क्रियाकलाप संस्थागत रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । गत सोमबार देखि शुक्रवारसम्म पाँच दिन सञ्चालन भएको तालिममा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले विभिन्न विषयवस्तुमा सहजीकरण गरेका थिए । 

मानव संसाधन विकास केन्द्र सुर्खेत र शिक्षा विकास तथा समन्वय इकाई सल्यानको समन्वय तथा सहकार्यमा, दलित विकास समाज सल्यानको आयोजना र रुम टु रिडको सहयोगमा तालिम सम्पन्न भएको हो । श्रीनगरमा सञ्चालित तालिममा छत्रेश्वरी, बनगाड र त्रिवेणी गाउँपालिकाबाट ५–५ जना र बागचौर नगरपालिकाबाट १ जना सहभागी थिए ।  स्थानीय तहमै दक्ष प्रशिक्षक तयार गरी एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउनु, शिक्षकको पेसागत विकासमार्फत शिक्षण सिकाइ प्रक्रियामा गुणात्मक सुधार ल्याउन र साक्षरता कार्यक्रमलाई पालिकाको नीतिगत ढाँचामा समेट्दै दीर्घकालीन योजना निर्माणमा टेवा पु¥याउने उद्देश्य सहित तालिम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए ।  

साक्षरता कार्यक्रम बालबालिकाको पढ्ने बानी र पठन सिप विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले तालिमबाट प्रशिक्षित व्यक्तिहरूले अब शिक्षण सामग्री, पाठ योजना र कक्षा कोठा व्यवस्थापनमा सुधार ल्याउन सहजीकरण गर्ने साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top