होमपेज / समाज
सल्यान, ११ बैशाख ।
वैदेशिक रोजगारीलाई सुरक्षीत र मर्यादित बनाउनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा समुदायस्तरिय अभिमुखिकरण सम्पन्न भएको छ । गाउँपालिकाका सातै वडामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी गहन समुदायस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । विभिन्न मितिमा सञ्चालन भएको उक्त कार्यक्रममार्फत ८६२ जनाले सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्राप्त गरेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जान चाहने व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा हाल वैदेशिक रोजगारीमा रहेका व्यक्तिका घरपरिवारका सदस्यहरूलाई लक्षित गर्दै विविध विषयमा अभिमुखिकरण गरिएको थियो । सहभागीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि गर्नुपर्ने तयारी, सुरक्षित रूपमा विप्रेषण पठाउने र प्राप्त गर्ने तरिका, विप्रेषणको सदुपयोग, भावनात्मक सहयोग तथा परामर्श सेवा र स्थानीय वित्तीय सेवा प्रदायकहरूबारे जानकारी दिइएको सामी कार्यक्रम अन्तर्गत गाउँपालिकाका मनोसामाजिक परामर्शदाता कमला शाहीले जानकारी दिइन् ।
कार्यक्रमका क्रममा सहभागीहरूबीच वैदेशिक रोजगारीसम्बन्धी अनुभव आदानप्रदान गर्नुका साथै सम्भावित जोखिम र सुरक्षाका उपायबारे विस्तृत छलफल गरिएको थियो । साथै वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारजनले भोगिरहेका सामाजिक र मानसिक समस्या तथा त्यसको समाधानका लागि आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो ।





.jpg)