होमपेज / समाज
वैशाख ०८ सल्यान । शारदा नगरपालिकामा नगर स्तरीय प्रथम किसान सम्मेलन सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले नगरपालिकाले कृषि तथा पशु सेवा क्षेत्रमा गरेका कामहरूबारे जानकारी गराएका थिए। प्रमुख अतिथि डा. कोपिला पोख्रेलले ‘आगामी दिनमा कृषि क्षेत्रलाई कसरी अघि बढाउने’भन्ने विषयमा प्रस्तुति दिएकी थिइन् । सम्मेलनमा बोल्दै नगर प्रमुख प्रकाश भण्डारीले पछिल्ला तीन वर्षमा शारदा नगरपालिकाले प्रविधिमैत्री कृषि प्रणालीलाई प्राथमिकतामा राखी उल्लेखनीय कार्यहरू गरेको बताए। साथै, आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा कृषिलाई विशेष प्राथमिकता दिन किसान सम्मेलन आयोजना गरिएको उल्लेख गरे। सम्मेलनमा नगरपालिकाले विगत तीन वर्षमा कृषिमा गरेका कार्यहरूको समीक्षात्मक भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगर प्रवक्ता राजेश कुमार शर्मा, वडा नं. १२ का वडा अध्यक्ष सुरेन्द्र बुढा, पशु सेवा प्राविधिक निरुता श्रेष्ठ, पूर्व कार्यालय प्रमुख रूपसिंह राई, पशु सेवा शाखा प्रमुख मनीषा भुसाल लगायत वडा प्राविधिक, कर्मचारी तथा वडा नं. १ देखि १५ सम्मका २०० भन्दा बढी किसानहरूको सहभागिता रहेको थियो । कृषि शाखा प्रमुख कविराज ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण नगर प्रमुखका प्रेस सल्लाहकार योगराज विश्वकर्माले गरेका थिए। कृषकका समस्या सुन्न, तिनको सम्बोधन गर्न र कृषि क्षेत्रको दिगो विकासका लागि सम्मेलन आयोजना गरिएको जनाइएको छ ।





.jpg)