ट्रेण्डिङ

होमपेज / समाज

सल्यान छत्रेश्वरीमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

  सल्यान खबर डेस्क २०८२ बैशाख ४ गते बिहीबार १५:३०:४६ मा प्रकाशित

सल्यान, ४ वैशाख ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा मेलमिलापकर्ताहरूको लागि आधारभूत तालिम सुरु भएको छ । विवादको साटो, मेलमिलापको बाटो भन्ने मुख्य नारा सहित वडा स्तरका मेलमिलापकर्ताहरूका लागि मेलमिलाप सम्बन्धी आधारभूत तालिम बिहीबार देखी सुरु भएको हो । 

तालिम उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले न्यायिक समितिले प्रभावकारी न्याय सम्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अन्तर्विरोध तथा अन्तर कलहमा एक पक्षको जीत र हार नभएर दुवै पक्षको जीत हुने गरी वडा स्तरमा नै मेलमिलाप गराउनमा मेलमिलापकर्ताहरूले महत् वर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

यस्तै गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बुद्ध कुमारी खत्रीले मेलमिलापकर्तामा विवादको गाँठो फुकाउन सक्ने क्षमता दिलाउन यो तालिमले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै समाजमा एक आपसमा हुने विवादलाई जटिल अवस्थामा पुग्न नदिनका लागि मेलमिलापकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताइन् । 

यस्तै प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले मेलमिलापकर्ताहरूले पक्ष विपक्षको गोपनीयता राख्नु पर्ने, आफूलाई आर्थिक लाभबाट प्रभावित गर्नु नहुने, एकको कुरा अर्कालाई सुनाउनु नहुने जस्ता आचरण पालना गर्नुपर्नेमा जोड दिए ।

छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा संवाद सहजीकरण तथा मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतले आजदेखि सुरु गरेको तालिम वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सात वटै वडाहरूबाट छनौट भएका तीन तीन जना मेलमिलापकर्ताहरू सहित न्यायिक समितिका सदस्यहरू, न्यायिक शाखाका कर्मचारी लगायत तालिममा सहभागी छन् । 

तालिमका प्रशिक्षकहरूमा अर्जुन प्रसाद घिमिरे र सन्तोष प्रसाद खनाल रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष छविलाल खत्री, वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष टङ्क बहादुर वली, वडा नं ६ का कार्यवाहक वडा अध्यक्ष सागर नेपाली, मेलमिलापका लागि शेयर सेन्टर, सुर्खेतका कार्यकारी निर्देशक गोपालसिंह बुढाथोकी लगायतको सहभागिता रहेको थियो । 

कानुनले स्थानीय तहका न्यायिक समितिलाई मेलमिलापको जिम्मेवारी दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ ९२० ले समितिलाई केही मुद्दाको विवाद निरूपण मेलमिलापबाट गराउने अधिकार दिएको छ । सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक हकका जग्गा अर्कोले च्यापेर, मिचेर वा घुसाएर खाएकोमा, आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएकोमा, पति पत्नीबिचको सम्बन्धी विच्छेद, अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिटका उजुरी, गाली बेइज्जती र लुटपाटका समस्या मेलमिलापबाट समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top