होमपेज / समाज
फागुन २०,सल्यान
सल्यानको कपुरकोट गाउँपालिकाले किसानहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेको छ । पशुपक्षिं सेवा शाखाको आयोजनामा तिन दिने बाख्रापालन तालिम प्रदान गरिएको हो । गाउँपालिकाको सभाहलमा सुरु गरिएको उक्त तालिममा ६ वटा वडाबाट करिब ३३ जना कृषक सहभागी भएका छन् ।
कपुरकोट गाउँपालिका तरकारी उत्पादनका लागि उर्वर भूमि भए तापनि आर्थिक रूपमा बाख्रापालन पनि प्रमुख आयस्रोत बन्दै गएको छ । हालसम्म परम्परागत रूपमा बाख्रापालन गर्दै आएका अगुवा कृषकलाई व्यवसायिक बाख्रापालनको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्ने तथा अर्धव्यावसायिक कृषकहरूलाई पूर्णरूपमा व्यावसायिक बनाउन प्रेरित गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा बाख्रापालनको व्यावसायिक महत्व, बाख्रामा लाग्ने महामारी रोगहरू र तिनको नियन्त्रण उपाय, उन्नत जातका बाख्राको छनोट, उचित घाँस तथा दाना व्यवस्थापन, खोर सुधार लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ ।

प्रत्येक वडाबाट ५ देखि ६ जना व्यावसायिक बाख्रापालक कृषकलाई सहभागी गराइएको यस तालिमले कृषकलाई आधुनिक प्रविधिबाट बाख्रापालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । हाल कपुरकोट गाउँपालिकामा करिब ३५ देखि ४० हजार बाख्रा पालिएको अनुमान छ । व्यावसायिक तरकारी खेती गर्दै आएका अधिकांश कृषकहरू बाख्रापालन तर्फ पनि आकर्षित भईरहेकोले यस तालिमले उनीहरूको आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको छ । पशुपक्षिं सेवा शाखाका प्रमुख बिनिता केसीको अध्यक्षतामा भएको तालिममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आथित्यता तथा उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको बिशिष्ट आपथत्यता रहेको थियो ।





.jpg)