ट्रेण्डिङ

होमपेज / समाज

छत्रेश्वरीमा महाशिवरात्रि मेलाको तयारी पुरा, नशालु पदार्थ सेवनमा कडाइ

  सल्यान खबर डेस्क २०८१ फाल्गुण १२ गते सोमबार १९:१७:५९ मा प्रकाशित

सल्यान, १२ फागुन ।

हजारौँ भक्तजन तथा दर्शनार्थीहरु सहित लाग्ने सल्यानको छत्रेश्वरी शक्तिपिठमा लाग्ने महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउन विभिन्न तयारी गरिएको छ । यही फागुन १४ गते महाशिवरात्रि पर्वको अवसरमा गरिने पूजा, दर्शन तथा मेलालाई व्यवस्थित बनाउन छत्रेश्वरी गाउँपालिका, सुरक्षा निकाय र सतिपिठ क्षेत्र विकास समितिको समन्वयमा विविध तयारी गरिएको हो ।

टाढाबाट आउने भक्तजनहरूको आवास तथा भोजन व्यवस्थापन, दर्शनार्थीको लागि लाइन व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा सवारी आवागमन व्यवस्थापनका सन्दर्भमा विभिन्न निर्णय गरिएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको छत्रेश्वरी सतिपिठको बारे प्रचारप्रसार, विकासका लागि गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको भन्दै उनले महाशिवरात्रीको अवसरमा मन्दिरको दर्शन गर्नका लागि सबैमा आग्रह गरेका छन् । स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवालाहरूको बैठक बसेर शंखपार्कको दर्शन तथा अन्य क्रियाकलापलाई छत्रेश्वरी मन्दिर मातहतमा रहने गरी व्यवस्थापन गर्ने तथा मेलाको समयमा हुने लागू औषध दुर्व्यसन नियन्त्रणका लागि विशेष ध्यान दिने निर्णय भएको छत्रेश्वरी सतिपिठ क्षेत्र विकास समितिका अध्यक्ष विश्व प्रेमी दाहालले जनाए ।

पर्व मनाउने बाहानमा बिभिन्न नकारात्मक क्रियाकलापहरू बढ्दै गएको सन्दर्भमा शिवरात्रि पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोगाउनका लागि विशेष पहल गरिएको समितिले जनाएको छ । महाशिवरात्रीको अवसरमा भगवान् शिवलाई प्रसन्न पार्ने वाह नामा गाँजा, भाङ, धतुरो घोट्टा आदिको उत्पादन र सेवन नगर्न आग्रह गरिएको छ । मेलाको अवसरमा विशेष सुरक्षा व्यवस्था गरिएको भन्दै इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले एक सय बढी सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । स्थानीय भासमा भगवानलाई प्रसन्न पार्ने नाममा घोट्टा बनाउने तथा खाने गर्दा संस्कार र संस्कृति असफलतातिर जाने भएकाले कोही कसैले प्रतिबन्ध लगाएको कार्य गरेमा कानुन अनुसार कारबाही हुने उनले जनाए । मन्दिर दर्शनका लागि सवारीसाधन मार्फत रापती लोक मार्गको घोप्टे अमराईदेखि शंखपार्क हुँदै वा शारदा नदी पुलबाट प्रवेश गर्न दिइने प्रहरीले व्यवस्था मिलाएको छ । तर फर्कँदा बिचको अर्को बाटोबाट लान्ती बजार वा सांघारबाट जाने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक गुरुङले जनाए । ठुला गाडी मन्दिर नजिकसम्म पुग्दा विगतमा अत्यधिक भिडभाड र जाम भएको अवस्थालाई मध्यनजर गरेर त्यस्ता गाडिलाई तल नै रोकिने उनको भनाई छ । य

सै गरी पर्वको नाममा ट्राफिक नियमको उल्लङ्घन नगर्न र मादक पदार्थ तथा लागू पदार्थ प्रयोग गरी सवारी सधान नचलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले अनुरोध गरेको छ । यसो गरेको पाइएमा सवारीसाधन होल्ड गरेर राख्ने र नियम बमोजिम ट्राफिक कारबाही गरिने कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक अशोक कुमार खड्काले जनाए । श्री स्वस्थानी व्रत कथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ । सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर ब्रह्माण्डको यात्रा गर्ने क्रममा छत्रेश्वरीमा सतीदेवीका शरीरका शेष अंश पतन भएपछि महादेवले शंखमूलको कुण्डमा स्नान गरी कैलाश पर्वततर्फ गएको उल्लेख छ । यही कारण छत्रेश्वरी क्षेत्रलाई पवित्र सतिपिठ मानिन्छ । साथै यो नेपालकै पशु बली नचढ्ने मन्दिरको रूपमा प्रसिद्ध छ । छत्रेश्वरी भगवती मन्दिरसम्म पुग्न शंखमूलदेखि पर्यटकीय पदमार्ग निर्माणाधीन अवस्थामा छ ।

रापती लोक मार्गको घोप्टे अमराईदेखि करिब चार सय मिटरको दूरीमा शारदा नदी किनारमा शंखमुल रहेको छ । यहाँ शंखपार्क पनि छ । शंखमूलदेखि करिब तीन किलोमिटर अगाडि पिशाचेस्वर महादेवको मन्दिर रहेको छ भने शंखमूलदेखि चार किलोमिटरको दूरीमा छत्रेश्वरी भगवती मन्दिर अवस्थित छ । धार्मिक आस्थाको केन्द्र छत्रेश्वरीमा हुने महाशिवरात्रि पर्वलाई भव्य र सुव्यवस्थित बनाउन सुरक्षा, सरसफाइ तथा दर्शन व्यवस्थापनका तयारीहरू गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top