ट्रेण्डिङ

होमपेज / समाज

जनता आवास कार्यक्रममार्फत सल्यानमा ३४ घर निर्माण हुँदै

  सल्यान खबर डेस्क २०८१ फाल्गुण ९ गते शुक्रबार १२:३२:२२ मा प्रकाशित

फागुन ९,सल्यान 

जनता आवास कार्यक्रममार्फत सल्यानमा ३४ घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालू आर्थिक वर्षमा ३४ घर निर्माण गरिने भएको हो । 

जिल्लामा लाभग्राही छनोट भई घर निर्माण हुने स्थान छनोट र लाभग्राहीसँग सम्झौताको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर महेशकुमार वलीले जानकारी दिए । उनका अनुसार बनगाड कुपिन्डे नगरपालिकामा ३, बागचौर नगरपालिकामा ४, कुमाख गाउँपालिका ३, सिद्ध कुमाख गाउँपालिका २, दार्मा गाउँपालिका ३, शारदा नगरपालिकामा ४, कपुरकोट गाउँपालिकामा २, त्रिवेणी गाउँपालिकामा ६, छत्रेश्वरी गाउँपालिकामा ४ र कालीमाटी गाउँपालिकामा ३ गरी ३४ आवास निर्माण हुनेछन् । 

कार्यक्रममार्फत जिल्लामा यसअघि एक सय ४५ वटा आवास निर्माण भइसकेका छन् । जसमा आर्थिक वर्ष ०७७/७८ मा ३० वटा, आर्थिक वर्ष ०७८/७९ मा ४० वटा र आर्थिक वर्ष ०७९/८९ मा ३१ र आव ०८०/८१ मा ४४ वटा आवास निर्माण भएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माणका लागि यस वर्ष जिल्लामा एक करोड १९ लाख रुपैयाँ पठाएको छ ।

प्रतिघर निर्माणका लागि सेवाग्राहीलाई  तीन लाख ३६ हजार दिने गरेको उनले जानकारी दिए । कार्यविधिअनुसार घर निर्माणका लागि जग खनेपछि कार्यालयले २५ प्रतिशत अर्थात् ८४ हजार रकम पहिलो किस्ताबापत दिने गरिएको छ । दोस्रो किस्ताबापत डिपिसी (जग ढलान) गरेपछि ३० प्रतिशत, तेस्रो किस्ताबापत घरको गाह्रो लगाएपछि ३५ प्रतिशत दिने कार्यविधिमा उल्लेख छ ।

चौथो किस्ताबापतको रकम भने शौचालयसहित घर सम्पन्न भएपछि १० प्रतिशत रकम भुक्तानी गरिने उनको भनाइ छ । पहिले संघीय सरकारले सुरुवात गरेको यो कार्यक्रम अहिले प्रदेश सरकारले सञ्चालन गर्दै आएको छ । ‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्ष्य गरी आव ०६६/६७ बाट लागू गरिएको योजना हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top