होमपेज / समाज
फागुन ५,सल्यान
सल्यानमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।
गाउँपालिकाले कम्बाइन मिल, कुटानी पिसानी मिल, डी फ्रिज ,मिनिटिलर, डिजिटल तौल मेशिन, कुखुराको प्वाँख खुइलाउने मेशिन, च्याप कटर आदी कृषि मेसिनरी औजार वितरण गरिएको छ । कृषकहरूको माग र आवश्यकताको आधारमा गाउँपालिकाको सबै वडा मा मेसिनरी औजार वितरण गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाको कृषि शाखामार्फत पालिका–स्तरीय कृषि विकास समिति गठन गरी छनोट गरिएको १२ वटा समूह तथा सहकारीलाई ११ वटा मिनी टिलर र ६ वटा कम्बाइन मिल वितरण गरिएको कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबालले जानकारी दिनुभयो।
त्यस्तै, पशु शाखाको वार्षिक पशु विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा २ वटा डी फ्रिज, २ वटा दाना पिस्ने मिल, ३ वटा डिजिटल तौल मेशिन, १ वटा फलामको टोकरी, ३ वटा दाना पिस्ने मेशिन,१ वटा कुखुराको प्वाँख खुइलाउने मेशिन,१ वटा च्याप कटर आदी उपकरणहरू वितरण गरिएको पशु शाखा प्रमुख वसन्त रावतले बताउनुभयो
गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले तरकारी फलफूल खेती र पशुपालन क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर गराउने प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले कृषकहरूलाई व्यावसायिक बनाई कृषि उत्पादन बढाउन नयाँ कृषि मेसिनरी औजार वितरण गरिएको भन्दै उहाँले वितरण गरिएका कृषि सामग्रीहरूको माध्यमबाट कृषकलाई निकै सहज हुने र उत्पादनमा समेत वृद्धि आउने अपेक्षा लिएको बताउनुभयो ।





.jpg)