होमपेज / समाज
माघ २४,सल्यान
लामो समयदेखि पानी नपर्दा हिउँदे बालीनाली सुक्न थालेका छन् । वर्षा नहुँदा हिउँदेबाली गहुँ, जौँ, चना, मसुरा जस्ता बालीनाली बारीमै सुक्न थालेका छन् ।
वर्षातको समयदेखि हालसम्म पानीसम्म पानी नपर्दा बारीमा छरेको बीउ नै नआउने होकी भन्ने चिन्ताले सताउन थालेको बनगाड कुपिण्डे नगरपालिका २ लक्ष्मण बुढाले बताउनु भयो । उहाँले भन्नु भयो ‘एक त पानी नपरेर बाली बारीमै हराइ सक्यो अलि अलि भएको पनि जंगली जनावरले सखाप पारी सके । यसपालि केले परिवारले पाल्ने गाह्रो हुने भयो ।’
पानी नपर्दा फूलेको तोरीमा दाना नलागेको अर्का किसान राजी बुढाले बताउनु भयो । ‘केही सेपिलो जग्गातिर मात्रै हरियो गहुँ जौ देखिन्छ । अन्यत्र सबै स्थान सुख्खा छ ।’ उहाँले भन्नु भयो ।
खेती लगाएदेखि वर्षा नभएकाले उत्पादनमा ह्रास आउने बुढाको भनाई छ । हिउँदे बाली नभए वर्षेबालीको भरमा मात्र परिवार चलाउन गाह्रो हुने उहाँले बताउनु भयो ।
सिचाइँको सुविधा भएको खेतमा लगाएको गहुँ पनि पहिलेजस्तो फस्टाउन नसकी भुइँमै टाँसिएको कालिमाटी गाउँपालिकाका ५ का भद्रबहादुर घर्तीले बताउनु भयो । पाखो जग्गामा लगाएको गहुँ वर्षा नभएकाले नउम्रिएको र अहिले बाली लगाएका जग्गा गाईवस्तुको चरन भएको उहाँले जानकारी गराउनु भयो । ‘खेत र पाखो गरी १० रोपनी जग्गामा गत वर्ष ६ मुरी गहुँ उत्पादन भएको थियो । घरकाले खाएर बचेको बिक्री गथ्र्ये । यसपालि बिउ आउनेमा पनिशंका लाग्न थालेको छ ।’ उहाँले भन्नु भयो । वर्षा नभएकाले गाउँका धेरैजसो पुरुष परिवारको खर्च जुटाउन भारतका बिभिन्न ठाउँमा गइसकेका उहाँको भनाइ छ ।
जिल्लामा ३८ हजार ९ सय २६ हेक्टर क्षेत्रफलमा हिउँदे बाली हुँदै आइरहेको छ । सल्यान खाद्यन्नमा आत्मनिर्भर जिल्ला हो । तर लामो समयको खडेरीले केही समस्या थपिने देखिन्छ ।





.jpg)