होमपेज / समाज
माघ ११ ,सल्यान
सल्यानमा दुर्घटना र विपद्पछिको प्राथमिक उपचारसम्बन्धी नमुना प्रदर्शनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा र जिल्ला अस्पताल सल्यानको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यलय सल्यानको परिसरमा प्रदर्शनी गरिएको हो ।
कार्यक्रममा प्रहरीलाई दुर्घटना वा आपत्कालीन अवस्थाहरूमा घाइतेलाई प्राथमिक उपचार कसरी प्रदान गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो । प्रहरीहरू यस्ता घटनामा अग्रपंक्तिमा रहेर काम गर्ने भएकाले यस किसिमको तालिमले उनीहरूको कार्यदक्षता वृद्धि गर्न सहयोग जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपाने बताउनु भयो ।
उहाँका अनुसार यस प्रकारका तालिमले प्रहरीको दक्षता मात्र होइन, सामुदायिक सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने बताउनु भयो । नमुना प्रद्धर्शनीमा जिल्ला अस्पताल सल्यानका डाक्टर जगत किरण वली र सह–इञ्चार्ज सुलोचना महर्जनले प्रशिक्षण दिनुभएको थियो ।
उनीहरूले प्राकृतिक प्रकोप र आकस्मिक अवस्थाहरूमा प्राथमिक उपचारका विधिहरू जस्तै चोटपटकको हेरचाह, सिपिआर, रक्तश्राप नियन्त्रण, र जलनको उपचारबारे जानकारी दिनुभएको हो । डाक्टर वलीका अनुसार प्राथमिक उपचारले घाइतेको अवस्था झन् जटिल हुन नदिन र तत्काल प्रभावकारी सहायताको व्यवस्था गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । तालिममा श्वासप्रश्वासको समस्या, रक्तसञ्चार सुधार, र घाइतेको दुखाइ कम गर्ने विधिहरूबारे पनि जानकारी गराइएको उहाँले बताउनु भयो ।
सल्यानमा सम्पन्न यो नमुना प्रदर्शनीले प्रहरीलाई आपत्कालीन अवस्थामा थप प्रभावकारी सेवा प्रदान गर्न सक्षम बनाउने विश्वास गरिएको छ । प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ ।





.jpg)