ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोटमा कृषि मिनी ल्याब स्थापना

  सल्यान खबर डेस्क २०८१ माघ १ गते मंगलबार १३:५१:२३ मा प्रकाशित

सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ । किसानको खेतबारीको माटो परीक्षण तथा रोग किराको पहिचान गर्न कपुरकोट गाउँपालिकाले कृषि मिनी ल्याब सञ्चालना ल्याएको हो ।  । 

कृषि मिनी ल्याब स्थापना भएपछि किसानलाई आफ्नो खेतबारीको माटोअनुसारको खेती गर्न र रोग किराको पहिचान गर्न सजिलो हुनेछ । डिजिटल प्रविधिबाट माटो परीक्षण तथा रोग किराको पहिचानका लागि ‘मिनी ल्याब सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।  

माटो परीक्षण र रोग किरा पहिचानका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरूको बाध्यता हटेको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए। माटोमा कुन पदार्थ कति छ, माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ, रोग किराको उपचार कसरी गर्ने भन्नेबारे कृषि मिनी ल्याबले किसानलाई जानकारी दिन सहज हुने उनको भनाइ छ । 

पछिल्लो समय अत्यधिक रासायनिक मल र विषादीको प्रयोगका कारण माटोको अवस्था बिग्रँदै गएको र नयाँ रोग तथा किराहरू देखा परेकाले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) को सहयोगमा कृषि मिनी ल्याब स्थापना गरिएको भण्डारीले बताए । उनका अनुसार कृषि मिनी ल्याबमा पालिकाभित्रका किसानले निःशुल्क तथा पालिकाबाहिरका किसानले शुल्क तिरेर आफ्नो खेतबारीको माटोको परीक्षण र रोग किराको पहिचान गरी उपचार विधि पत्ता लगाउन सक्नेछन् । 

ल्याबसँगै रोग किरा तथा किसानहरूको गुनासो सुनुवाइ गर्न कृषक परामर्श केन्द्रको समेत सञ्चालनमा ल्याइएको कृषि उपज बजार सञ्चालक समिति अध्यक्ष तिलक शर्माले जानकारी दिए । किसानलाई रोग किराबारे जानकारी दिन पनि आवश्यक भएकाले ल्याबसँगै परामर्श केन्द्रको स्थापना गरिएको उनको भनाइ छ ।   

प्रतिक्रिया

सम्बन्धित खवर

Top