ट्रेण्डिङ

होमपेज / समाज

अपाङ्गता दिवसमा पञ्चेबाजा सहितको र्‍याली 

  सल्यान खबर २०८१ मंसिर १८ गते मंगलबार १८:०१:३६ मा प्रकाशित

सल्यान, १८ मङ्सिर ।

अपाङ्गता अधिकार, समानता र हौसलाको नाराहरूसहित र्‍याली, अभिमुखीकरण, सम्मान एवम् प्रतिभाहरू प्रस्तुत गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरेर सल्यानमा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने नाराको साथ सल्यानको छत्रेश्वरीमा दिवस मनाइएको हो ।

छत्रेश्वरी गाउँपालिका ६ भोटेचौरमा पञ्चेबाजा सहित र्‍याली निकालिएको थियो भने उक्त र्‍याली गाउँपालिकाको सभा हलमा गएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । छत्रेश्वरी गाउँपालिका तथा गाउँपालिका अन्तर्गत सिएमसी नेपाल, सु स्वा कार्यक्रम, सामाजिक विकास कार्यालय सल्यानको सहयोग, समन्वयमा पाथीभरे अपाङ्ग सेवा सङ्घ सल्यानले दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न गाउँपालिकाले विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गरे । गत वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा तथा अधिकारका लागि कार्यक्रम गरिएको स्मरण गर्दै उनले गाउँपालिकाले अपाङ्गतामैत्री संरचनालाई विशेष जोड दिएको बताए । अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि श्रोत कक्षाको थप व्यवस्थापन लगायत विभिन्न साझेदार संस्थाहरूसँग समन्वय गरेर गाउँपालिकाले काम गरिरहेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

कार्यक्रममा रेस नेपाल सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले अपाङ्गता अधिकारका लागि सरोकारवालाको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सभ्य र समुन्नत समाज निर्माणका लागि अपाङ्गता अधिकारलाई सबैले ध्यान दिन आवश्यक रहेको जनाए । पाथीभरे अपाङ्ग सेवा सङ्घका अध्यक्ष बम बहादुर केसीले विगतमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा बिचराको रुपमा मात्रै हेर्ने गरिएको उल्लेख गर्दै बिस्तारै अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएमा सक्षम नागरिक भएर आफ्नो जीवन निर्वाह गर्न सक्छन् भन्ने कुराको चेतना बढ्दै गएको उल्लेख गरे ।

यद्यपि अझै पनि अपाङ्गता भएकाहरूलाई दयाको पात्रको रुपमा हेर्ने विषय अवशेषको रुपमा रहेको बताए । कार्यक्रममा सिएमसी नेपाल छत्रेश्वरी गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता गीता पहाडीले मानसिक, भावनात्मक, र सामाजिक समस्याको समाधानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरणा र सशक्तीकरणमा योगदान पु¥याउने प्रस्तुतीकरण गरेकी थिइन् ।

गाउँपालिकाका वास संयोजक निमराज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ सल्यानका अध्यक्ष श्री दीपेन्द्र शाही, गाउँपालिका अन्तर्गत विभिन्न शाखाका प्रमुख, अन्य कर्मचारी, प्रहरी प्रतिनिधि, पत्रकार लगाएको उल्लेख्य सहभागिता रहेको थियो । सो अवसरमा अपाङ्गता क्षेत्रमा विभिन्न सहयोग गर्ने व्यक्तिहरूलाई दोसल्ला र प्रसंशापत्रले सम्मान गरिएको थियो भने अपाङ्गता भएका व्यक्तिहरूले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण खडग शाहीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top