ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा प्रहरीको सडक नाटक अभियान

  सल्यान खबर डेस्क २०८१ मंसिर १४ गते शुक्रबार १९:५७:५९ मा प्रकाशित

मंसिर १४,सल्यान 

जिल्लामा हुने सबै किसिमका हिंसा, अपराध, बालविवाह तथा अन्धविश्वास न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले सडक नाटक अभियान थालेको छ ।स्थानीय तहको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सल्यानले अभियान थालेको हो । १६ दिने लैङ्गिक हिंसा न्यूनीकरण अभियान चलिरहेकै बेला जिल्ला प्रहरी कार्यालयले उक्त अभियान बिहीबार शारदा नगरपालिकाको खलंगामा सडक नाटक देखाएर अगाडि बढाएको छ ।

विगतका प्रयास असफल भएपछि विकल्पका रूपमा सडक नाटक अभियानलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक केशरकुमार न्यौपानेले बताए । ‘अहिलेसम्म हिंसा, अपराध, बालविवाह तथा अन्धविश्वास न्यूनीकरणका लागि गरिएका कार्यक्रम सभाहलमा निश्चित व्यक्ति सहभागी भएर सम्पन्न हुने गरेका छन्, जसका कारण ग्रामीण क्षेत्रमा बस्दै आएकाले थाहा नै पाउँदैनन्,’ उनले भने, ‘खुला स्थानमा सडक नाटक देखाउँदा के भैरहेको छ भनेर धेरै सर्वसाधारण जमघट हुन्छन्, नाटक हेर्छन् र मनोरञ्जन मात्र नभई धेरै कुरा सिक्ने अवसर पाउँछन् ।’

गत वर्ष अपराध तथा हिंसासम्बन्धी ८६ घटना भएका र यो आवको चार महिनामा १६ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको उनले बताए । ‘कुनै पनि विद्यार्थीले विद्यालयमा शिक्षकले किताब पढाएका कुराभन्दा वृत्तचित्रमार्फत देखाएका कुरा छिटो सिक्ने र दिमागमा राख्ने गर्छन्,’ उनले भने, ‘हामीले पनि त्यही प्रयास थालेका हौं ।’

प्रहरीले देखाएको सडक नाटक कोठे कार्यक्रमभन्दा धेरै प्रभावकारी लागेको बन्गाड कुपिण्डे नगरपालिका–८ बाट राहदानी तथा परिचय पत्र बनाउन खलंगा आएका दीपक बोहराले बताए । सचेतना फैलाउने खालको नाटक पालिकाका मुख्य स्थानमा मात्र नभई बस्ती–बस्तीमा गएर देखाए अपराध तथा हिंसाका घटना कम हुने उनले सुनाए ।

मानिसहरू अझै पनि बिरामी पर्दा अस्पताल जान छाडी धामीझाँक्रीको घरमा पुग्ने मात्र नभई २० वर्ष नपुगी बिहे नगर्न सम्बन्धित निकायले प्रचारप्रसार गर्दै आए पनि सानो उमेरमा बिहे गर्नेको संख्या झनै बढेकाले यस्ता सचेतनामूलक अभियान कोठामा सीमित गर्नेभन्दा बस्ती–बस्तीका घरघरमा गएर गर्न आवश्यक रहेको कुमाख गाउँपालिकाको बडागाउँ घर भएका प्रमोद खड्काले बताए । प्रहरीले उक्त कार्यक्रम गाउँघरमा गएर गरे झनै प्रभावकारी हुने उनले सुनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top