ट्रेण्डिङ

होमपेज / समाज

बालिका तथा समावेशी शिक्षा सञ्जालमा कार्यविधिबारे छलफल, विद्यार्थीको अपाङ्गता पहिचान गरिने

  सल्यान खबर डेस्क २०८१ मंसिर ३ गते सोमबार १७:११:२३ मा प्रकाशित

सल्यान, ३ मङ्सिर । छत्रेश्वरी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको छ । बैठकले बालिका तथा समावेशी शिक्षाको महत्वलाई प्राथमिकतामा राख्दै, सञ्जालको गठन र सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ को मस्यौदामाथि छलफल गरेको छ ।

मस्यौदा कार्यपालिका बैठकमा पेस गर्ने निर्णयसँगै, गाउँपालिकाभित्र रहेका विद्यार्थीको अपाङ्गता पहिचानका लागि विशेष शिविर सञ्चालन गर्ने योजना समेत तय गरिएको सञ्जालका सदस्य सचिव तथा छत्रेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिए । बैठकमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बोल्दै समावेशी शिक्षाले मात्र समाजमा समानता र न्याय सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे ।

समावेशी शिक्षाको महत्वका बारेमा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी गराउनुपर्ने भन्दै उनले बालिका र समावेशी शिक्षाका लागि परिणाममुखी काम गर्न सबै सरोकारवालालाई अभियानमा सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा पालिका स्तरीय सञ्जालका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले विद्यालयमा वा विद्यालय आउजाउ गर्दा अथवा अन्य स्थानमा बालबालिकामाथि हुन सक्ने विभिन्न भेदभाव, दुर्व्यवहार, हिंसा तथा हेपाइलाई न्यूनीकरणका लागि समावेशी शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले शिक्षामा गरिएको लगानीले दिगो विकास र समतामूलक समाज निर्माणको आधार तयार गर्न सक्ने बताए ।

यस्तै स्ट्रिट चाइल्ड अफ नेपालका प्रबन्धक सञ्जय बुढाथोकीले सञ्जाल गठनमा मात्र सीमित नभई कार्यान्वयनमा पनि तदारुकता देखाउनुपर्ने धारणा राख्दै बालबालिका, विशेष गरी सीमान्तकृत समुदाय र अपाङ्गता भएका बालबालिकाको शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । पालिका भित्रका बालिका, अपाङ्गता तथा सीमान्तकृत र जोखिममा रहेका बालबालिकाको शिक्षा, सुरक्षा र संरक्षणका अधिकारहरूलाई प्रवर्द्धन गरी लैङ्गिक हिंसामा कमी ल्याउन र बालबालिकाले सामना गरिरहेका शैक्षिक अवरोधहरूको सम्बोधन गर्न, सिकाइलाई दिगो रुपमा जीवनपर्यन्त निरन्तरता दिनका लागि बालिका तथा समावेशी शिक्षा सञ्जाललाई संस्थागत गर्न लागिएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिकाका प्रारम्भिक विवरण अनुसार ९३ जना विद्यार्थीमा अपाङ्गता भएको हुनसक्ने अवस्था देखिएकाले अपाङ्गता पहिचानका लागि लगत्तै शिविर सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । बैठकमा कार्यपालिका सदस्य बसन्ता जिसीसँगै स्ट्रिट चाइल्ड अफ नेपालका संरक्षण संयोजक कमला उप्रेती, वरिष्ठ कार्यक्रम संयोजक निलम सुवेदी, प्रदेश फोकल पर्सन ऋषिमाया चौधरी, आसमान नेपालका लक्ष्मण थापा लगायतका प्रतिनिधि एवम् सञ्जालमा आबद्ध पत्रकार, प्रहरी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top