होमपेज / समाज
सल्यान, २९ कार्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायित्व सम्बन्धित निकायकै भएको बताएका छन् । सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समितिमा बसेर काम गर्ने वा सार्वजनिक स्रोतसाधनको प्रयोग गरेर काम गर्ने जो कोहीले पनि भ्रष्टाचार सम्बन्धित क्षेत्रको ऐन, नियम पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिएका हुन् ।
आयोगको आयोजनामा बिहीबार सल्यानको छत्रेश्वरी गाउँपालिकाका आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अख्तियार मात्रै भ्रष्टाचार नियन्त्रण गर्ने एउटै संस्था हो भन्ने बुझ्नु गलत हो । सबैभन्दा पहिलो दायित्व सम्बन्धित निकाय, कार्यालय र इकाई को हो । सम्बन्धित कुराहरू र ऐन नियमको परिपालना तथा परिणामसँग सम्बन्धित रहेर काम गर्नुपर्छ ।’ उनले कर्णाली प्रदेशमा विशेष गरेर निर्माण तथा सामान खरिद, परामर्श सेवा खरिद, नियुक्ति एवम् पारदर्शिता नअपनाएका विषयमा बढी जसो उजुरी आउने गरेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा वन समूह र निर्माण समितिका पदाधिकारीहरू लगायत सरोकारवालाहरूका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पारदर्शी र जबाफदेही भूमिका सुशासनको महत्त्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै ऐन, नियमको पालनामा आफूहरूले सक्दो र इमानदार प्रयास गरिरहेको बताए । यद्यपि अख्तियार भन्नेवित्तिकै तर्सिनुपर्ने अवस्था समेत रहेको भन्दै उनले काम गर्दा प्रक्रियागत त्रुटि हुनसक्ने तर त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगायत पत्रकार, विद्यालय, उपभोक्ता समिति, वन समूहका प्रतिनिधीहरुले विभिन्न जिज्ञासा र सुझाव प्रदान गरेका थिए ।
कार्यक्रममा आयोगको सुर्खेत कार्यालयका शाखा अधिकृत विष्णु प्रसाद न्यौपानेले भ्रष्टाचार र यसका कारण तथा असरहरू, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरू एवं स्थानीय तहलाई आयोगका सुझावहरूका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक गरी मुख्य रुपमा तीन किसिमका रणनीतिक उपायहरूमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि अख्तियारको सुर्खेत कार्यालयले चालु आर्थिक वर्षमा पालिका स्तरमा ३० वटा कार्यक्रम गर्ने लक्ष्य राखेकोमा हाल सम्म छत्रेश्वरी सहित ४ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको जनाए । उनले जिल्ला स्तरमा ५ वटा र प्रदेश स्तरमा एउटा कार्यक्रम गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।
अख्तियारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । अभिमुखीकरण कार्यक्रममा स्रोतको पारदर्शी र न्यायोचित उपयोग, जनताको सहभागिता, र विभिन्न क्षेत्रमा देखाइपर्न सक्ने अनियमितताहरूको बारेमा पनि छलफल गरिएको थियो । वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विद्यालय, वन समूह र निर्माण समितिका पदाधिकारीहरू सहभागी कार्यक्रममा सहभागीहरूलाई स्रोतसाधनको सदुपयोग गर्दै सुशासनलाई कायम राख्न र आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि सचेत रहन आग्रह गरिएको थियो ।





.jpg)