होमपेज / समाज
भदौ २१,सल्यान
गएराती देखि परेको अविरल वर्षाले पहिरो जाँदा दुई राजमार्ग अवरुद्ध भएका छन् । राप्ती राजमार्ग र दाङ –सल्यान– सुर्खेत सडकखण्डमा पहिरो जाँदा गएराती सडक आवागमन बन्द भएका छन् ।
राप्ती राजमार्ग अन्तरगत दाङ सल्यान सडकखण्डको सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । सडक माथिबाट लेदो सहितको पहिरो आइरहेकाले पहिरो हटाउन समस्या भइरहेको उहाँको भनाई छ ।
सडक सूचारु गराउन डोजरले पहिरो हटाइरहेको खत्रीले बताउनु भयो । पानी परि रहेकाले पहिरो हटाउन थप समस्या भएको उहाँले बताउनु भयो । सानो गाडीहरु वैकल्पिक बाटो प्रयोग गरी आवातजावत गरी रहेता पनि ठूला गाडीहरुले भने गएरातीदेखि बिच बाटोमा नै अलपत्र परेका छन् । सडक सुचारु हुँन अझै दुई तीन घण्टा लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दाङ– सुर्खेत सडकखण्ड अन्र्तगत सल्यानको कालिमाटी गाउँपालिका ४ टटेलीमा पहिरो गएको छ । अविरल वर्षासँगै गएको पहिरोले दाङ– सुर्खेत सडकखण्ड पूणरुपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।