ट्रेण्डिङ

होमपेज / समाज

व्यावसायिक स्याउखेतीमा सल्यानका किसान

  सल्यान खबर डेस्क २०८१ श्रावण २३ गते बुधबार १२:३२:१६ मा प्रकाशित

साउन २३,सल्यान

पछिल्लो समय फलफूल खेतीमा सल्यान अब्बल जिल्लाका रूपमा परिचित हुँदै गएको छ। सुन्तला, किवी व्यावसायिक खेती गर्दै आइरहेका सल्यानका किसान पछिल्लो समय स्याउखेतीमा पनि आकर्षित हुन थालेका छन्।

स्याउखेतीका लागि सल्यानको माटो र मौसमले साथ दिँदा व्यावसायिक खेतीमा लागेको कुमाख गाउँपालिका– ३ सापडाँडाका कृषक अतिराम राना बताउँछन्। सापडाँडाका सबै स्थानीय मिलेर व्यावसायिक स्याउखेती गरेको उनको भनाइ छ।

८ रोपनी क्षेत्रफलमा व्यावसायिक खेती थालेका रानाका ४० बोटले फल दिन थालेको र ४ सय बिरुवा हुर्किरहेका छन्। ‘स्याउखेतीका लागि उचित हावापानी र माटो राम्रो मानिएको नम्रैना, सापडाँडा र ओबोनेटीका करिब २० घरधुरीले व्यावसायिक स्याउखेती थालेका छौँ,’ उनले भने।

आफूले रोपेका २ सय बोटमध्ये झन्डै ३० बोटले यो वर्षदेखि फल दिन थालेको अर्का किसान कर्णबहादुर रानाले बताए। स्याउको बिरुवा रोपेको करिब ४ देखि ५ वर्षपछि फल्न सुरु गर्ने उनको भनाइ छ। स्याउखेती विस्तारका लागि भारत र कालिकोटबाट बिरुवा ल्याउने गरेको उनले बताए। उनले भने, ‘अन्नबालीलगायतका बालीनालीमा जंगली जनावरले क्षति पुर्याउन थालेपछि स्याउखेती सुरु गरेका हौँ।’

कृषि विकास कार्यालय सल्यानले स्याउखेतीका लागि जिल्लाको हावापानी मिल्दो रहेको जनाएको छ। कुमाख– ३ को नम्रैना, सापडाँडा र अबिनेटा क्षेत्रलाई स्याउखेती पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए।

सल्यानका कुमाख र छत्रेश्वरी गाउँपालिका तथा बनगाड कुपिन्डे, बागचौर र शारदा नगरपालिकाका केही स्थानमा स्याउखेती हुँदै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top