होमपेज / समाज
सल्यान — विगतका वर्षमा भाउ नपाएर खेतबारीमै कुहिने बन्दागोभीको भाउ यस वर्ष आकासिएको छ । वर्षातका कारण तराईमा डुबान पर्दा उत्पादित तरकारी मासिएको र भारतबाट पनि पर्याप्त मात्रामा आउन नसकेपछि स्थानीय किसानले उत्पादन गरेको बन्दागोभीको भाउ बढेको हो ।गत वर्षसम्म ५ देखि १५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका किसानले अहिले खेतबारीबाटै ६० देखि ६५ रुपैयाँमा बिक्री गरिरहेका छन् । सिद्धकुमाख गाउँपालिका– ३ ढोडचौरका कुलाराम रेउलेले गत वर्ष भारतबाट तरकारी आएका कारण प्रतिकिलो ५ रुपैयाँ पनि भाउ पाउन नसकेको बताए । यस वर्ष बारीबाटै ५० रुपैयाँ किलोमा बिक्री गर्दै आएका छन् । उनले बन्दागोभी १० रोपनीमा लगाएका छन् । त्रिवेणी गाउँपालिका–१ काभ्राका वीरबहादुर रावतले पनि अहिले बारीबाट ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बन्दागोभी बिक्री गरिरहेकाे बताए ।
त्रिवेणी गाउँपालिका–१ का रावतले बन्दागोभीको भाउ बढेकाले यस वर्ष गत वर्षको घाटा पनि पूर्ति हुने देखिएको सुनाए । ‘गत वर्ष १० रोपनीमा बन्दागोभी खेती गर्नेको करिब ५ लाख रुपैयाँ घाटा भएको थियो,’ उनले भने, ‘यस वर्ष दुई रोपनीमा लगाएको बन्दागोभीबाट सबै खर्च कटाएर झन्डै एक लाख रुपैयाँ नाफा भएको छ ।’
कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जिल्लाबाहिरबाट माग आएकाले नै विगतका वर्षहकाे तुलनामा यस वर्ष बन्दोगोभीको भाउ उच्च रहेको बताए । ‘गत वर्ष जिल्लाको कपुरकोट, त्रिवेणी, बाग्चौर नगरपालिकाबाट ३ करोड ४९ लाख रुपैयाँको १ हजार २ सय २२ मेट्रिक टन बन्दागोभी निकासी भएको थियो,’ उनले भने, ‘यस वर्ष भाउ उच्च भएकाले १० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान छ ।’ उनका अनुसार जिल्लाका झन्डै ५ हजार किसानले व्यावसायिक तरकारी खेतीसँगै बन्दागोभी खेती गर्दै आएका छन् ।
ekantipur