होमपेज / समाज
सल्यान, २७ असार ।
सल्यानका युवा तथा महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले व्यवसाय सुरुवात तालिम सुरु भएको छ । आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत बिहीबार देखी व्यवसाय सुरुवात तथा उद्यमशीलता विकास तालिम सुरु भएको हो । सल्यान श्रीनगरमा सुरु भएको तालिम आइतबार सम्म सञ्चालन हुनेछ । समूहमा आबद्ध महिला तथा युवाहरूलाई लाभदायक र दिगो व्यवसाय सुरु गर्न तथा सुधार गर्न उत्प्रेरित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए ।
तालिममा जिल्लाको छत्रेश्वरी गाउँपालिकाबाट १५ जना र कपुरकोट गाउँपालिकाबाट १५ जना गरेर जम्मा ३० जनाको सहभागिता रहेको छ । उद्यमीहरू उत्पादन गरी स्थानीय स्तरमै रोजगारी सृजना गर्नका लागि तालिम पश्चात् सहभागीहरूलाई व्यवसाय सुरुवातमा टेवा पुर्याउन अन्य सहयोग समेत उपलब्ध गराइने संयोजक खरेलको भनाई छ । सम्भाव्य उद्यमीहरूलाई घुम्ती कोष परिचालन मार्फत व्यवसाय सुरुवात तथा सुधार गर्न टेवा पुर्याउने उद्देश्य रहेको उनको भनाई छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै दलित विकास समाज सल्यानका सहसचिव लक्ष्मण परियारले समाजमा विद्यमान बेरोजगारी समस्याको दिगो समाधान उद्यमशीलता नै भएको उल्लेख गर्दै आफूले पनि विगतमा उद्यमशीलता तालिमबाट प्रेरित भएर कटाई सिलाई व्यवसाय सुरु गरेको बताए । यस्तै नेपाल पत्रकार महासङ्घ सल्यानका कार्यवाहक अध्यक्ष शङ्कर केसीले समाजमा रहेको एउटा वर्गले अहिले पनि सम्पत्ति, अवसर, स्रोतसाधनमाथि पहुँच राखिरहेको तर अर्को वर्ग ती अवसर, स्रोतसाधनको उपभोगबाट वञ्चित रहनुपरेको भन्दै उद्यमशीलताबाट गरिबी निवारण सँगै आर्थिक र सामाजिक न्याय प्राप्त गर्न सकिने बताए । तालिम लिएर मात्र नहुने भन्दै दलित विकास समाज सल्यानका कार्यसमिति सदस्य शान्ता नेपालीले तालिममा सिकेका अनुभव र ज्ञानलाई समाजमा हस्तान्तरण तथा व्यवहारमा लागु गरेमा मात्रै उपलब्धिमूलक हुने बताइन् ।
सो अवसरमा संस्थाको परिचय र उद्देश्य माथि प्रकाश पार्दै दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले समृद्ध, समावेशी र न्यायपूर्ण समाजको परिकल्पना अनुरूप संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गरेका थिए ।
चार दिने तालिममा व्यवसायको परिचय, अवधारणा, आम्दानीका श्रोतहरू, सफल उद्योगीका विशेषताहरू, व्यवसाय अवसरको पहिचान, छनोट प्रक्रिया, व्यवसाय र परिवार बिचको सम्बन्ध तथा व्यवसायमा महिला तथा युवाको आवश्यकता लगायतका विषयमा अन्तरक्रियात्मक क्रियाकलाप गर्दै प्रशिक्षण दिइने परियोजनाका छत्रेश्वरी गाउँपालिका सुपरभाइजर लीला वलीले जानकारी दिइन् । उद्यम विकास सहजकर्ताहरू निमा बस्नेत र बाल कुमारी पुनले तालिममा सहज करण गरिरहेका छन् ।