होमपेज / समाज
सल्यान, १५ असार ।
सल्यानमा मानवअधिकार उलङ्घन तथा ज्यादतीका २० वटा घटना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शनिवार आयोजित सल्यान जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखिकरण गरेका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा जिल्ला जिल्लामा पछिल्लो ६ महिनामा २० वटा मानव अधिकार उलङ्घनका घटना भएको तथ्याङ्क सार्वजनिक भएको हो ।
ती घटनामा पुरुष भन्दा महिला बढी पीडित भएको पाइएको छ । तथ्याङ्क सार्वजनिक गर्दै इन्सेकका जिल्ला प्रतिनिधि बुद्धिमान पुनले जिल्लामा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जिल्लामा सन् २०२४ जनवरी देखि हालसम्म २० ओटा घटनाहरू सङ्कलन गरिएको र त्यसमा पनि राज्य पक्षबाट एक वटा र अन्य पक्षबाट १९ वटा घटना घटेको जानकारी दिनुभयो ।
जस अनुसार कुटपिटका एक वटा, हत्याका तीन वटा, बाल अधिकार तर्फ बलात्कारका २ वटा, महिला अधिकार तर्फ घरेलु हिंसा १२ वटा, र बहुविवाहका दुई वटा घटना रहेका छन् । ती घटनामा एक जना पुरुष र १९ जना महिना पीडित भएका छन् । जिल्लामा अन्य प्रकृतिका घटनामा कमी आएको देखिए पनि महिला हिंसाका घटनामा भने सुधार आउन नसकेको जिल्ला प्रतिनिधि पुनको भनाइ छ । ‘पछिल्लो छ महिनामा भएका मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनालाई हेर्दा पुरुष भन्दा महिला धेरै पीडित भएको पाइएको छ, त्यसमा पनि घरेलु हिंसाका घटना धेरै छन्’ उहाँले भन्नुभयो ‘विगतमा गरिएको बालविवाह अहिले घरेलु हिंसा हुँदै अन्य घटनामा परिणत भएको पाइएको छ, यसको न्यूनीकरणका लागि बालविवाह अन्त्य, मदिराजन्य बस्तुको बिक्री वितरणमा बन्देज र सचेत करणका कार्य सञ्चालन आवश्यक छ, यसमा स्थानिय सरकार बढी जिम्मेवार देखिन्छ ।’
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले मानवअधिकारको रक्षा र संरक्षणमा सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । जिल्लामा महिला हिंसाका घटना धेरै देखिएको बताउँदै उहाँले यसको मुख्य जड भनेकै बालविवाह भएको बताउनुभयो । ‘मानवअधिकारको क्षेत्रमा इन्सेकले महत्त्वपूर्ण काम गर्दै आएको छ, जिल्लामा मानवअधिकार हननका घटना हुन नदिनको लागि सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न जरुरत पनि छ’ उहाँले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले प्रहरीले मानवअधिकार हननका घटनामा शून्य सहनशीलताको नीति लिएको बताउनुभयो । मानवअधिकारको संरक्षण र सम्वद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएकाले मानवअधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो । जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालका संयोजक मुना हमालको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी तथा पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।





.jpg)