होमपेज / समाज
असार ३,सल्यान
गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि सल्यानका किसानले धानको ब्याड बचाउन गाग्रीबाट पानी हाल्न थालेका छन्।
लामो समयदेखि पानी नपर्दा खोलानाला सुक्दा धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसानले गाग्रीमा पानी बोकेर ब्याडमा सिँचाइ गर्न थालेका छन्।
लामो समयसम्मको खडेरीले कुलोमा आउने पानी नै सुकेपछि शारदा नदीबाट गाग्री, बाल्टीमा पानी बोकेर ब्याडमा सिँचाइ गरिरहेको शारदा नगरपालिका– १ की सुन्तली बुढाथोकीले बताइन्। पानी नपर्दा धानको ब्याड सुक्न थालेपछि एक हप्तादेखि गाग्रीमा पानी बोकेर ब्याड बचाउनुपरेको उनको भनाइ छ।
साँझ–बिहान बोकेर पानी हाल्दा पनि आकाशबाट परेजस्तो नहुने अर्का किसान सरस्वती बुढाथोकीले बताइन्। उनले भनिन्, ‘अत्यधिक गर्मी छ, बोकेर हालेको पानीले के हुन्थ्यो र एकै छिनमा सुकिहाल्छ।’
इनार तथा बोरिङ हुने किसानले इनार तथा बोरिङबाट सिँचाइ गरिरहेका छन्। सल्यानको प्रमुख शारदा नदी नै सुक्न थालेपछि शारदा नदीको सिँचाइमा निर्भर किसान चिन्तित बनेका छन्। अझै एक हप्तासम्म पानी नपरे धानको ब्याड बचाउन मुस्किल हुने बुढाथोकीले बताइन्।





.jpg)