होमपेज / समाज
वैशाख २७,सल्यान
संसार देख्ने आँखा बुढेसकाल लागेपछि बन्द भइदिँदा संसार कति अन्धकार हुँदो हो ? दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र वा बाहिर हिँडडुल गर्न कसैको सहयोग, दिसा पिसाब गर्न पनि सहारा लिनुपर्दाको पिडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।
सल्यान दार्मा गाउँपालिका ४ की मन कुमारी मल्लको आँखा नदेख्दाको पिडा केही वर्षदेखि भोग्दै आइरहनु भएको थियो । उपचारका लागि बाहिर जाऊ त बुढेसकालमा गाडीमा आवतजावत गर्न गाह्रो नजाऊँ नाकै अघिको केही नदेखिने ।
यसै बिच दार्मा गाउँपालिकाको आयोजनामा मोतिया विन्दु छनौट शिविर सञ्चालन भयो । उहाँ आफ्नै वडामा भएको शिविरमा गएर आँखा चेकजाँच गराउँदा मोतिया विन्दु भएको पत्ता लाग्यो र त्यही शिविरमा आएका डाक्टरले अप्रेसन पनि गरी दिने आश्वासन पनि दिनु भयो । आँखा चेकजाँच गरे पनि अप्रेसन गर्दा कति पैसा लाग्ने हो भन्ने चिन्ताले पिरोल्न थाल्यो । त्यही पिडा उहाँले वडाध्यक्षलाई पोख्नु भयो र वडाध्यक्ष चन्द्र बहादुर रावतले पालिकाका ६ वटै वडामा शिविर सम्पन्न भएपछि आधारभूत स्वास्थ्य तथा प्रसूति केन्द्र दार्मा ३ थुम्केसल्लिमा निःशुल्क मोतिया विन्दुको अप्रेसन हुने जानकारी पाउनु भयो । आफ्नै गाउँघरमा निःशुल्क पुनः दोस्रो पटक आँखा देख्न पाउने सुनेपछि आधा आँखा केही खुसीमा देखे जस्तो अनुभूति भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी जस्ता बुढाबुढी जो वरपर गर्न सक्दैनौँ त्यस्ताका कारण गाउँमै शिविरमा राखेकामा पालिकालाई धन्यवाद छ ।’
यस्तै दार्मा २ का कृति बहादुर चन्दको मुहार पनि निकै मुस्कुराइ रहेको थियो । ७० ÷७५ वर्षको उमेरमा फेरी आँखाको ज्योति पाउँदा र सहारा बिनै हिँडडुल गर्न पाउँदा मुहारमा छुट्टै चमक थियो । उहाँले भन्नु भयो ‘लाग्दथ्यो बुढ्यौली जीवन कसरी कटाउने हो , तरे अप्रेसन पछि आँखाले ज्योति पायो । फेरी नयाँ जीवन पाएझैँ लागेको छ ।’
गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठुलो राहत मिलेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । उहाँले भन्नु भयो जे जसरी सकिन्छ, राज्य हुनुको आकाश नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो ।
मोतिया विन्दु समस्या पत्ता लागेका १२९ जना मध्ये ८५ जना (३४ पुरुष र ५१ महिला) को निःशुल्क अप्रेसन गरिएको छ । पालिकाका ६ वटै वडामा सञ्चालन भएको शिविरमा १ हजार १ सय ७९ जनाले आँखा उपचार सेवा लिएका छन् । जसमा २१२ जनालाई निःशुल्क औषधी २५७ जनालाई औषधी र चस्मा वितरण गरिएको पालिकाले जनाएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, रापती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग र दार्मा गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको हो ।





.jpg)