होमपेज / समाज
सल्यान — सल्यानमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको छ । घरेलु हिंसा, अशिक्षा, बालविवाह, गरिवी, वैदेशिक रोजगारी, सामाजिक, पारिवारिक समस्याले दिन प्रतिदिन रोगको संख्या बढ्दै गएपछि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको हो ।
स्वास्थ्य समस्याकै कारण दैनिक रुपमा मानिसहरु पारिवारिक, सामाजिक क्रियाकलापबाट टाढा हुँदै गएका छन् । स्वास्थ्य कार्यालय सल्यान तथा विभिन्न संघसंस्थाले मानसिक रोग नियन्त्रण सम्बन्धी कार्यक्रम संचालन गरेपनि खासै प्रभावकारी हुन सकेको छैन । यसले गर्दा धेरै उपचारबाट समेत बन्चित हुनुपरेको छ । त्यत्ति मात्र नभई रोग लुकाउने तथा पहिचानमा समस्या हुँदा आत्महत्याको जोखिम बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार २०७६/०७७ मा पुरुष ७४८ र महिला २८७ गरी १ हजार ३५, ०७७/०७८ मा पुरुष ७१४ र महिला ३१६ गरी १ हजार २० र ०७८/०८९ मा पुरुष ५०१ र महिला २२९ गरी ७ सय ३० जना मानसिक स्वास्थ्य समस्याका रोगी रहेका छन् । यो त उपचारमा आएका मात्रको तथ्यांक हो । रोगकै कारण पछिल्नो दुई वर्षको अवधीमा १ सय २० जनाभन्दा बढीले आत्महत्या गरिसकेका छन् भने १ सय ४० जनाले आत्महत्याको प्रयास गरेका छन् ।
जिल्ला अस्पताल सल्यानमा दैनिक उपचार गर्न आउने १ सय ५० मध्ये ४/५ मा मानसिक स्वास्थ्य समस्या भएका बिरामी भेटिने र अहिले पनि अस्पतालमा तीनजनाले उपचार गराइरहेका अस्पतालका डा. दिपेन्द्र रायले बताए । पारिवारिक यातना, घरेलु तथा सामाजिक हिंसा, वैदेशिक रोजगार लगायत धेरै कारणले तनाव बढेकै कारण मानसिक रोगी बढ्दै गएको उनले जानकारी गराए । उनका अनुसार कतिले औषधी सेवन गरिरहेका र परामर्ष लिइरहेका छन् भन्ने यकिन छैन ।
‘आर्थिक अवस्था तथा चेतनाको अभावका कारण उपचार नगराइ तथा डाक्टर/स्वास्थ्यकर्मीको सम्पर्कमा नआएका र आएका पनि उपचार नगराइ फर्कने गरेका छन् । समस्या भएकाले नियमित औषधी सेवन गर्नुपर्छ । सबैले सक्दैनन् । कतिले दुई/तीन महिना आएर छाड्ने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा बिरामी रोगबाट मुक्त हुन सकेका छैनन् । रोग पूर्ण रुपमा नियन्त्रण गर्न सरकारले नि:शुल्क उपचारको व्यवस्था गर्न आवस्यक छ ।’
जिल्ला अस्पताल सल्यानले मानसिक रोगीलाई विगतदेखि तालिम प्राप्त चिकित्सकको अभावमा परामर्ष र उपचारका लागि केही औषधी नि:शुल्क उपलब्ध गराउँदै आएपनि प्रभावकारी सेवा दिन नसकेको उनको भनाइ छ ।
मानसिक रोगकै कारण जिल्लामा पछिल्लो समयमा आत्महत्या बढिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरिक्षक सन्तोष खनालले बताए । जिल्ला प्रत्येक वर्ष ५० भन्दा बढीले आत्महत्या गर्ने गरेको र आत्महत्या गर्नेमा सबैभन्दा बढी मानसिक रोगी रहेका उनले जानकारी गराए । ‘मानसिक रोगका कारण ०७७/०७८ मा ६९ र ०७८/०८९ मा ५४ जनाले आत्महत्या गरिसकेका छन्,’ उनले भने, ‘१ सय ४० जनाले आत्महत्याको प्रयास गरेका छन् ।’
मानसिक रोग निवारण सम्बन्धी कुनै पनि कार्यक्रम नभएकाले रोगीको पहिचान गर्न तथा समस्या देखिएकाहरुमा उपचार गर्न कठिनाइ भएको दार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतले बताए । पालिकाको कुल जनसंख्याको १० प्रतिसतमा मानसिक स्वास्थ्य समस्या देखिएको उनले जानकारी गराए । ‘रोग निवारणका लागि सचेतनामुलक कार्यक्रम गर्न यस आबमा १ लाख विनियोजन गरेका छौं तर यसले पुग्दैन,’ उनले भने, ‘रोग निवारणका लागि विज्ञ डाक्टरलाई ल्याई उपचार गराउन तथा परामर्ष दिन आवस्यक छ ।’ सम्बन्धित निकायले समयमै चासो नदिए यसले भयावहको रुप लिन सक्ने उनको भनाइ छ ।
बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वाशुदेव पोखरेलले स्वास्थ्यसंस्थाको पहुँचमा आएका १ सय २ जना बिरामी रहेका र उनीहरुले नियमित औषधी सेवन गरिरहेका बताएका छन् । चेतना तथा आर्थिक अभावमा उपचार गराउन नमानी लुकाएर बसेका गाउँमा धेरै रहेका उनले जानकारी गराए । रोगीको उपचारका लागि विगतमा कुनै कार्यक्रम संचालन नभएपनि पछिल्नो समयमा सीएमसी नेपालको सहकार्यमा परामर्ष तथा रोग पहिचानको कार्यक्रम अगाडी बढाएको उनको भनाइ छ ।
मानसिक स्वास्थ्य समस्या भएकाहरुको सहज उपचारको लागि सिएमसि नेपालले अहिले शारदा, बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, छत्रेस्वरी गाउँपालिकामा प्रवासी परिवार तथा तिनका परिवारको मानसिक तथा मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन परियोजना संचालन गरेको कर्णाली प्रदेस संयोजक हिमाल गैरेले बताएका छन् । भविष्यमा जिल्लाका १० वटै पालिकामा उक्त कार्यक्रम संचालन गरिने र आधारभुत अधिकार प्राप्त गरी समस्या भएका पुरुष तथा महिलालाई अन्य सरह जीवन जीउने पाउने अधिकार प्रदान गरिने उनले जानकारी गराए ।
उनका अनुसार विभिन्न समस्याका साथै हेलचेक्राईंले रोगको समस्या बढाएको छ । नेपालको कुल जनसंख्याको १८ प्रतिशत मानसिक स्वास्थ्य समस्या भएका पुरुष महिला भएकाले सल्यानमा पनि कुल जनसंख्या अनुसार ४ हजार बढी नै हुनसक्ने र धेरै उपचारको पहुँच बाहिर रहेको उनको भनाइ छ ।
ekantipur





.jpg)