ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा देउसी भैलोमा सङ्कलन भएको रकम मिर्गौला पीडितलाई सहयोग

  सल्यान खबर डेस्क २०७९ कार्तिक १२ गते शनिबार १४:२९:१७ मा प्रकाशित

कार्त्तिक १२,सल्यान 

तिहारमा रमाइलो र पुरानो संस्कृति जर्गेना गर्न भन्दै देउसी भैलो खेल्ने गरिन्छ । देउसी भैलोमा सङ्कलन भएको रकमलाई धेरैले फजुल खर्च गर्ने गर्दछन् । तर सल्यानका केही युवाहरूले भने देउसी भैलोमा सङ्कलन भएको रकम मिर्गौला पीडितलाई सहयोग गरेका छन् । जिल्लाको शारदा नगरपालिका १ पटनेरिका तीन समूहले देउसी भैलोबाट सङ्कलन भएको रकम दुवै मिर्गौलाले काम गर्न छोडेका स्थानीय नवराज बोहरालाई सहयोग गरेका हुन । 

शारदा नगरपालिका १ पटनेरिका पटनेरि युवा समूहले १६ हजार, साइ समूहले ११ हजार ५ र पटनेरि सांस्कृतिक समूहले २० हजार गरी ४७ हजार ५ रुपैयाँ मिर्गौला पीडित बोहरालाई सहयोग हस्तान्तरण गरेका हुन । शनिवार तीन वटै समूहका पदाधिकारी तथा सदस्यहरूले पीडितको घरमै पुगी सो रकम हस्तान्तरण गरेका हुन । 

देउसी भैलोबाट सङ्कलन भएको रकम पिकनिक तथा अनावश्यक फजुल खर्च गर्नु भन्दा दुःख पिडामा रहेकालाई सहयोग गरे पीडितलाई थोरै भएपनि राहत पुग्ने सोचका साथ रकम हस्तान्तरण गरिएको पटनेरि युवा समूहका रञ्जित भडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो आफ्नै गाउँका मानिस रकम अभावले छटपटाई रहँदा आफूहरूको पनि सहयोग गर्नु कर्तव्य ठानेका हौँ र सोही अनुसार सहयोग गरेका हौँ । 

सहयोग रकम बुझ्दै मिर्गौला पीडित बोहराले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top