होमपेज / समाज
दीपक शर्मा असोज १७, सल्यान
चाडपर्व नजिएसँगै सल्यान बनगाड कुपिण्डे नगरपालिका २ राइराका लालवीर विष्ट गरुवा बनाउन व्यस्त छन् ।
उमेरले ६७ नाघी सकेका विष्टलाई आजभोली मयुर नाचमा प्रयोग हुने गरुवा बनाउन भ्याई नभ्याई भएको छ । मयुर नाच अर्थात सेरिंगे नाचका लागि मयुरको प्वाँखबाट निमार्ण गरिने गरुवा बनाउन झन्डै दुई महिना लाग्ने उनको भनाई छ ।
असारको महिनामा मयुरले आफ्नो प्वाँख झार्ने भएकाले जंगलमा खोज्न जानेबाट गरुवा बनाउने कामले निरन्तरता पाउने उनको भनाई छ । उनले भने ‘मयूरका प्वाज पछाडि राखेर नाच्ने भएकाले कतिपयले मयूर नाचलाई गर्वा नाच पनि भन्ने गर्दछन् ।’
एउटा गरुवाको चार हजार देखि सात हजारसम्म बिक्री गर्ने गरेको उनको भनाई छ । गत वर्ष दुई सेट गरुवा विक्रीबाट दुई लाख १२ हजार आम्दानी भएको बताउँदै उनले यो वर्ष पनि दुई सेट गरुवाको माग भएको बताए । उनले भने ‘सेट अनुसार १ लाख देखि १ लाख ५० हजारसम्म बिक्री हुने गरेको छ ।’
१२ वटाको सेट देखि २२ वटासम्मको सेटको माग हुने गरेको उनको भनाई छ । पछिल्लो समय मयूरको लोप हुँदै जाँदा प्वाख पाउन भने निकै मुस्किल हुने गरेको विष्टले बताए ।
राइराका मात्रै सात भन्दा बढी घरपरिवारले वार्षिक १५ देखि २० सेटसम्म गरुवा बिक्री गर्ने गरेको दिनेश जंग क्षेत्रीले बताए । सल्यान, रुकुम, जाजरकोट, सुर्खेत लगायतका क्षेत्रबाट गरुवाको माग हुने गरेको क्षेत्रीको भनाई छ । उनले भने ‘विश्वभर फैलिएको कोरोना भाइरसका कारण मयूरको प्वाख ल्याउन केही समस्या भइरहेको छ ।’
सल्यान, रुकुम, जाजरकोटमा चाडपर्व, मेलापातमा नाचिने मयूर नाच भने बिस्तारै लोप हुँदै जान थालेको छ । युवापुस्तामा संस्कृति जर्गेनामा खासै वास्ता नहुनु तथा बुढापाकाहरुबाट पनि नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न नसक्दा मौलिक तथा परम्परागत संस्कृति लोप हुँदै जान थालेका छन् ।
मयूर लोप हुँदै जानु तथा गरुवा बनाउने सीप भएका व्यक्तिहरुको अभावका कारण थप समस्या हुने गरेको बुढापाकाहरुको भनाई रहेको छ ।





.jpg)