ट्रेण्डिङ

होमपेज / समाज

सल्यान राइराका लालवीर गरुवा बनाउन व्यस्त

  दिपक शर्मा २०७७ आश्विन १७ गते शनिबार १४:१०:३८ मा प्रकाशित

दीपक शर्मा असोज १७, सल्यान  
चाडपर्व नजिएसँगै सल्यान बनगाड कुपिण्डे नगरपालिका २ राइराका लालवीर विष्ट गरुवा बनाउन व्यस्त छन् । 

उमेरले ६७ नाघी सकेका विष्टलाई आजभोली मयुर नाचमा प्रयोग हुने गरुवा बनाउन भ्याई नभ्याई भएको छ । मयुर नाच अर्थात सेरिंगे नाचका लागि मयुरको प्वाँखबाट निमार्ण गरिने गरुवा बनाउन झन्डै दुई महिना लाग्ने उनको भनाई छ ।  

असारको महिनामा मयुरले आफ्नो प्वाँख झार्ने भएकाले जंगलमा खोज्न जानेबाट गरुवा बनाउने कामले निरन्तरता पाउने उनको भनाई छ । उनले भने ‘मयूरका प्वाज पछाडि राखेर नाच्ने भएकाले कतिपयले मयूर नाचलाई गर्वा नाच पनि भन्ने गर्दछन् ।’ 

एउटा गरुवाको चार हजार देखि सात हजारसम्म बिक्री गर्ने गरेको उनको भनाई छ । गत वर्ष दुई सेट गरुवा विक्रीबाट दुई लाख १२ हजार आम्दानी भएको बताउँदै उनले यो वर्ष पनि दुई सेट गरुवाको माग भएको बताए । उनले भने ‘सेट अनुसार १ लाख देखि १ लाख ५० हजारसम्म बिक्री हुने गरेको छ ।’
 १२ वटाको सेट देखि २२ वटासम्मको सेटको माग हुने गरेको उनको भनाई छ । पछिल्लो समय मयूरको लोप हुँदै जाँदा प्वाख पाउन भने निकै मुस्किल हुने गरेको विष्टले बताए । 

राइराका मात्रै सात भन्दा बढी घरपरिवारले  वार्षिक १५ देखि २० सेटसम्म गरुवा बिक्री गर्ने गरेको दिनेश जंग क्षेत्रीले बताए । सल्यान, रुकुम, जाजरकोट, सुर्खेत लगायतका क्षेत्रबाट गरुवाको माग हुने गरेको क्षेत्रीको भनाई छ । उनले भने ‘विश्वभर फैलिएको कोरोना भाइरसका कारण मयूरको प्वाख ल्याउन केही समस्या भइरहेको छ ।’ 

सल्यान, रुकुम, जाजरकोटमा चाडपर्व, मेलापातमा नाचिने मयूर नाच भने बिस्तारै लोप हुँदै जान थालेको छ । युवापुस्तामा  संस्कृति जर्गेनामा खासै वास्ता नहुनु तथा बुढापाकाहरुबाट पनि नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न नसक्दा मौलिक तथा परम्परागत संस्कृति लोप हुँदै जान थालेका छन् । 
मयूर लोप हुँदै जानु तथा गरुवा बनाउने सीप भएका व्यक्तिहरुको अभावका कारण थप समस्या हुने गरेको बुढापाकाहरुको भनाई रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top