ट्रेण्डिङ

होमपेज / समाज

विदेशबाट फर्किएर गाउँमा व्यवसायिक कुखुरापालनमा रमाउँदै सल्यानका युवाहरु

कुखुरा पालनबाटै गाडी

  दिपक शर्मा २०७७ भाद्र २३ गते मंगलबार १६:३५:५९ मा प्रकाशित

दीपक शर्मा भदौ  २३, सल्यान

सात वर्ष कतार र साउदी बसेर फर्किएका प्रेम बहादुर रेउलेको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको कष्टकर जीवन त्यागेर व्यावसायिक कुखुरा पालन रोजेका उनको गाउँघरमा भविष्य देखि रहेका छन् । सल्यान  त्रिवेणी गाउँपालिका ४ फलावाङका प्रेम बहादुर रेउलेले झन्डै एक वर्ष अघि २ लाख लगानीमा ‘केशव पोल्टी फर्म’ सञ्चालनमा ल्याए । ‘परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ उनले भने ।’

लोकल र ब्रोइलर जातका कुखुरा पालन गर्दै आएका रेउलेले विदेशको ४० डिग्रीमा काम गर्नु भन्दा गाउँघरमै थोरै लगानीमा व्यवसाय गर्नु  उचित भएको बताए । उनले भने लोकल कुखुरा ढिलो हुर्कने भए पनि आम्दानी भने राम्रो रहेको छ । घरबाटै प्रतिकिलो ७ सयका दरले विक्री हुँदै आइरहेको छ । बजारको सुनिश्चित र उचित मूल्य भएमा व्यवसायमा लगानी बढाउने सोचमा रहेको उनको भनाई छ ।

यस्तै तीन वर्ष साउदी बसेर फर्किएका शारदा नगरपालिका ९ आराका मेहर सिंह बोहराले पनि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । बोहरा पोल्टी फर्म दर्ता गरी व्यावसायिक कुखुरा पालन गर्दै आइरहेका बोहराले वर्षमा ६ लट कुखुरा तयार हुने उनको भनाई छ । उनले भने ‘कतारमा गएको एक वर्षमा सोचे जस्तो काम र पारिश्रमिक नभएपछि गाउँमै केही व्यवसाय गर्छु भनी स्वदेश फर्किएको हुँ ।’ कुखुरा पालनबाट राम्रै आम्दानी भइरहेको छ ।’

 ६ लाख लगानीबाट व्यवसाय सुरु गरेको बोहराले एक लटमा दुई लाखसम्म आम्दानी भएको बताए । यो वर्ष लकडाउनले बजारीकरणमा केही समस्या भए पनि व्यवसायबाट भने घाटा नलागेको उनको भनाई छ । १ हजार ५ सय ब्रोइलर कुखुरा अट्ने दुई वटा खोर रहेका छन् । कुखुराबाट भएको आम्दानीले एक गाडी किनेको समेत उनको भनाई छ । उनले भने ‘काम गर्ने इच्छाशक्ति भएपछि कुनै पनि व्यवसायमा लगानी गरे पनि घाटा हुँदैन, मैले कुखुराबाट भएको आम्दानीले एक गाडी समेत किनी सकेको छु । ढुवानीमा समेत सहज भएको छ ।’

सिद्ध कुमाख गाउँपालिका ३ डाँडाकटेरीका धनिराम बोहरा पनि विगत एक वर्ष देखि कुखुरा पालन व्यवसायमा संलग्न छन् । तीन न वडा सदस्य समेत रहेका उनी अहिले गाउँका उदाहरणका पात्र बनेका छन् । २ लाख लगानीबाट व्यवसाय सुरु गरेका बोहराले सबै खर्च कटाएर वार्षिक २ लाखसम्म आम्दानी गर्दै आइरहेका छन् । उनले भने ‘सामाजिक काम गर्ने व्यक्तिले कृषिमा पनि हात हाल्दा अरूलाई पनि कृषिमा लाग भन्न सजिलो हुँदो रहेछ ।’

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झन्डै दोब्बर छ । जिउँदो कुखुरा प्रतिकिलो रु ७ सयमा बिक्री हुने गरेको उनको भनाई छ । अन्य कुखुरा भन्दा लोकल कुखुरा विक्री वितरण गर्न समेत निकै सहज रहेको बोहराले बताए ।

जिल्लामा विदेशबाट फर्किएर कुखुरा पालन देखि अन्य पेसा व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । बजारीकरण गर्न सहज र थोरै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि कुखुरा पालनमा युवाहरूको आकर्षण बढेको कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top