होमपेज / समाज
माघ २२, २०७६ बैतडी :
बैतडीका स्थानीय तहहरूले सडकलाई प्राथमिकतामा राखेका छन्। सोही अनुसार दुर्गम क्षेत्रमा सडक सञ्जाल बिस्तार भइरहेका छन्। मेलौली नगरपालिका १ को दुर्गम जर्कु टोलमा बुधबार सडक पुगेपछि स्थानीय खुसी भएका छन्।
सडक निर्माण भएर गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित भएका हुन्। नगरपालिका तथा वडा कार्यालयको ८० लाख ८० हजारको लगानिमा जर्कु टोलमा सडक पुर्याइएको मेलौली नगरपालिका १ का वडा अध्यक्ष सुरतसिंह नेगीले जानकारी दिए। उनले भने, 'स्थानीयको चाहना अनुसार गाउँमा सडक पुर्याइएको हो।' गाउँमा सडक पुगेपछि जर्कु टोल र नङरौं टोलका स्थानीय लाभान्वित भएका स्थानीय लक्ष्मण पार्कीले जानकारी दिए।
'गाउँमा सडक पुगेपछि आफूहरू निकै खुसी छौं' उनले भने, 'गाउँमा सडक पुगेसँगै सामग्री ढुवानी गर्न र यातायात समेत सहज हुनेछ।' यस्तै बिरामीलाई समेत समयमै स्वास्थ्य संस्थामा पुर्याउन सजिलो हुने स्थानीयको भनाई छ। मेलौली नगरपालिकाको दुर्गम गाउँको रुपमा रहेको जर्कु टोलमा सडक पुर्याउने प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता अनुरुप नगरपालिकाले सडक निर्माण गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताए। 'गाउँमा सडक पुगेपछि विकासका अन्य पूर्वाधार निर्माण समेत सहज हुनेछ' उनले भने, 'गाउँमा सडक पुगेसँगै वडा नं १ का बासिन्दालाई नगरपालिकाको केन्द्र पुग्न पनि सजिलो हुनेछ।' नगरका आठ वडामा सडक मेलौली नगरपालिका ८ ओटा वडामा सडकको पहुँच पुगेको छ।
वडा नं ४ बाहेकका सबै वडामा सडक पुगिसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको नगर उपप्रमुख राधा ओझाले बताए। 'सडक पुग्न बाँकी वडामा पनि सडक पुर्याउने काम जारी छ' उनले भने, 'सडक विकासको मेरुदण्ड भएकोले सडक बिस्तारमा जोड दिएका हौं।'





.jpg)