ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा नागरिकको घरदैलोमै पुगेर राहदानी वितरण

  सल्यान खबर डेस्क २०८३ जेठ २३ गते शनिबार १७:१२:१२ मा प्रकाशित

सल्यानमा नागरिकको घरदैलोमै राहदानी पुर्‍याउने सेवाको औपचारिक सुरुवात गरिएसँगै नागरिकले घरमै राहदानी प्राप्त गरेका  छन् । बैशाख २३ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच भएको सम्झौताअनुसार राहदानी बनाएका सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्ने कार्य कार्यान्वयनमा ल्याइएको हो । 

सेवाको सुरुवात स्वरूप बनगाड कुपिण्डे नगरपालिका १ निवासी डिल्लीबहादुर रावत र सन्तोषी रावतको राहदानी उनीहरूका आफन्तलाई घरमै पुगेर हस्तान्तरण गरिएको छ । जिल्ला हुलाक कार्यालयका अनुसार यस सेवाले राहदानी प्राप्तिका लागि सदरमुकाम धाउनुपर्ने नागरिकको झन्झट कम भएको छ ।

पहिलो चरणमा ६९ थान राहदानी जिल्ला हुलाक कार्यालय सल्यानले प्राप्त गरेको छ। प्राप्त राहदानीहरू सम्बन्धित स्थानीय तहका हुलाक कार्यालयमार्फत वितरणका लागि पठाइसकिएको जनाइएको छ।हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार कालिमाटी गाउँपालिकामा ९, बनगाड कुपिण्डे नगरपालिकामा ७, कपुरकोट गाउँपालिकामा ७, त्रिवेणी गाउँपालिकामा ७, छत्रेश्वरी गाउँपालिकामा ९, बागचौर नगरपालिकामा १६, दार्मा गाउँपालिकामा ३, कुमाख गाउँपालिकामा १, सिद्धकुमाख गाउँपालिकामा ५ र शारदा नगरपालिकामा पाँच गरी कुल ६९ थान राहदानी सम्बन्धित पालिकामा पठाइएको छ ।

रेग्मीले एक–दुई दिनभित्र सबै राहदानी सेवाग्राहीलाई वितरण गरिसक्ने तयारी रहेको जानकारी दिए।  राहदानी वितरणको नयाँ व्यवस्थाले नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top