होमपेज / समाज
फागुन २०,सल्यान
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सल्यानमा दुई मतदान केन्द्रलाई महिला मैत्री बनाइएको छ । शारदा नगरपालिका–२ खलंगास्थित बालमन्दिरमा रहेको मतदान स्थलका ‘क’ र ‘ख’ मतदान केन्द्रलाई पूर्ण रूपमा महिला कर्मचारी र सुरक्षाकर्मीमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको हो ।
नमूना मतदान केन्द्रका रूपमा स्थापित यस केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मी सबै महिला मात्र परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले महिला सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त केन्द्रलाई महिला मैत्री बनाइएको जानकारी दिनुभयो ।
महिला मैत्री मतदान स्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक पूर्णिमा चन्दको नेतृत्वमा महिला सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेम केसीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘समाजमा सकारात्मक सन्देश प्रवाह हुने देखिएपछि दुई वटै केन्द्रलाई कमाण्ड सम्हाल्ने गरी चन्दलाई जिम्मेवारी दिइएको छ । उहाँले शान्त, भयरहित वातावरणमा निर्वाचन गराउनु हुन्छ भन्ने पूर्ण विश्वास पनि हामीले लिएका छौं ।’
बालमन्दिर मतदान केन्द्र ‘क’ मा मतदान अधिकृत रिता कुमारी थारु र सहायक मतदान अधिकृतमा दिलमाया राना क्षेत्री तथा ‘ख’ मा मतदान अधिकृत सरस्वती थापा र सहायक मतदान अधिकृतमा निमा रोकाय रहनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दका अनुसार ‘क’ केन्द्रमा ८९६ र ‘ख’ केन्द्रमा ९४८ गरी कुल १ हजार ८४४ मतदाता रहेका छन् । ११७ मतदान स्थल र २०५ मतदान केन्द्र रहेका छन् । उहाँका अनुसार पाँच मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी महिला कर्मचारीले लिएका छन् । भवानी माध्यमिक विद्यालय छायानाथ कपुरकोटमा मतदान अधिकृतमा कविता खनाल र सहायक मतदान अधिकृतमा गिता शर्मा, शिवजन माध्यमिक विद्यालय शारदा नगरपालिका शितलपार्टी ग केन्द्रमा कुश्मा केसी र भूमिका पुन, महेन्द्र रत्न माध्यमिक विद्यालय पिपलनेटा ख मा दिपा पौडेल र विमला खत्री, लक्ष्मी माध्यमिक विद्यालय छत्रेश्वरी दोहोली मा विमला कुमारी चलाउने र प्रभा खड्कालाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । यी स्थानमा अन्य कर्मचारी र सुरक्षा निकाय भने पुरुष समावेश गरिएको छ ।
सहायक मतदान अधिकृत निमा रोकायले महिला कर्मचारी मात्र खटिएको मतदान केन्द्रमा काम गर्न पाउँदा गर्व र उत्साह महसुस भएको बताउनुभयो । उहाँले भन्नु भयो ‘हामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नेछौ ।’
स्थानीय प्रशासनले मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी पूरा भएको जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाभर उत्साह, सक्रियता र सजगता बढेको देखिएको छ ।





.jpg)