ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका सबै निर्वाचनस्थलमा पुग्यो निर्वाचन सामग्री

  सल्यान खबर डेस्क २०८२ फाल्गुण १९ गते मंगलबार १५:१०:५२ मा प्रकाशित

सल्यानका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र र निर्वाचन सामग्री बुझेर मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेका हुन् । ४२० मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित एक हजार २२८ कर्मचारी परिचालित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यका साथ कर्मचारी मतदानस्थलमा खटिएको जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत धीरेन्द्र भण्डारीले बताए। भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती भइरहेको छ। नेपाली प्रहरीका ६६८, निर्वाचन प्रहरी एक हजार ४०६, सशस्त्र प्रहरी तीन सय  र नेपाली सेना १३ स्थानमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बताए ।

सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ११७ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएको छ । यसपटकको निर्वाचनका लागि एक लाख ६२ हजार ४४९ मतदाताले आफ्नो अमूल्य मत हाल्नेछन् । यो संख्या प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ मा भएको चुनावको तुलनामा चार हजार ७४० ले बढी हो । अघिल्लोपटकको निर्वाचनमा जिल्लाभर एक लाख ५७ हजार ७०१ मतदाता थिए । दश स्थानीय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा २४ हजार ८१८ मतदाता रहेका छन् भने सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा आठ हजार ८४८ रहेका छन् ।

बागचौर नगरपालिकामा २३ हजार १२६, बनगाड कुपिन्डे नगरपालिकामा २२ हजार ५०, कपुरकोट गाउँपालिकामा १२ हजार २२५, कालीमाटी गाउँपालिकामा १५ हजार ५५३, कुमाख गाउँपालिकामा १५ हजार ३३७, छत्रेश्वरीमा १६ हजार १३७, त्रिवेणी गाउँपालिकामा ११ हजार ५५० र दार्मा गाउँपालिकामा १२ हजार ४९७ मतदाता कायम भएका छन् । आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्रसमेत थप भएका छन् । 

अघिल्लो निर्वाचनमा जिल्लाभर २०२ मतदान केन्द्र रहेकोमा यसपटक भने तीनवटा केन्द्र थपेर २०५ पुगेका छन् । मतदानस्थल भने ११७ वटा नै कायम भएका छन् । यसपटक छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जनमाध्यमिक विद्यालय लेखचौरपानी, सिद्धकुमाख गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छापडाँडा र बनगाड कुपिन्डे नगरपालिकाको आधारभूत विद्यालय आगरनेटामा मतदान केन्द्र थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top