होमपेज / समाज
कालीमाटी गाउँपालिका– ७ की तिला रानालाई आजभोलि रातमा त के दिउँसो नै घरबाहिरको दैनिक कामकाज गर्न निकै डर लाग्ने गर्दछ । वस्तुभाउलाई घाँस ल्याउन त घरनजिकै रहेको शौचालय जान पनि डराइडराई जानुपर्ने बाध्यता छ ।
घुइयाबारीकै गणपनि रानालाई पनि दैनिकी चलाउन निकै सकस परिरहेको छ । घरनजिकै रहेको जंगलमा जाऊँ नरभक्षी बाघ आएर आक्रमण गर्ला भन्ने डर नजाऊँ घरका वस्तुभाउ भोकै मर्लान् भन्ने पिर । कालीमाटी गाउँपालिका ५, ६ र ७ वडाका सबै नागरिकको साझा समस्या बनेको छ नरभक्षी बाघ । गत पुस २३ गते सुर्खेत भेरीगंगा नगरपालिका– ५ गेरुवानीकी ५७ वर्षीया गंगादेवी सारुमगर, पुस २५ गते कालीमाटी गाउँपालिका– ७ की ४२ वर्षीया धनसरी रावत र २८ गते कालीमाटी ६ हात्तीढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गयो । घाँसदाउरा, मेलापात र घट्ट जाँँदा एक हप्ताको बिचमा तीनजनाको बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरेपछि कालीमाटीका तीन वडाका नागरिक प्रभावित भएका छन् ।
घटना घटेको एक महिना पुग्दासमेत बाघ मार्न वा नियन्त्रणमा लिन अनुमति पाएको नेपाली सेनाको टोलीले न बाघ नियन्त्रणमा लिन सकेको छ न त उक्त बाघ अहिले कहाँ छ भनेर पत्ता लगाउन सकेको छ । घरबाहिर निस्कँदा बाघले आक्रमण गर्छ कि भन्ने डरले अत्यावश्यक कामसमेत प्रभावित भएको बाघको आक्रमणबाट मृत्यु भएकी धनसरी रावतका छोरा शेरबहादुर रावतले बताए ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको बफर क्षेत्रका रूपमा रहेका बस्ती जंगली जनावरबाट सुरक्षित नभएको उनको भनाइ छ । उनले भने, ‘घटना घटेको एक महिना भयो, तर आक्रमण गर्ने बाघ अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । साथै क्षतिपूर्तिसमेत पाउन सकेका छैनौँ ।’
यस्तै, अमृता मगरले बाघको त्रासका कारण बालबालिका विद्यालय जानसमेत डराउन थालेको बताइन् । सम्बन्धित निकायले तत्काल समाधान खोज्नुपर्ने र ढिलाइ हुँदा थप मानवीय क्षति हुन सक्ने जोखिम बढ्न सक्छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीका स्थानीयले आफूहरू असुरक्षित बनेको भन्दै वन्यजन्तुबाट जोगाउने प्रभावकारी व्यवस्था गर्न माग गरेका छन् । सुरक्षा व्यवस्था गर्न नसकिने अवस्था आए मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने मागसमेत उठाउन थालेका छन् । स्थानीयको समस्या समाधानका लागि सरकार संवेदनशील बन्नुपर्ने कालीमाटी गाउँपालिका– ७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनले निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने नागरिकको जीवन सुरक्षामा राज्यले जिम्मेवारी लिनुपर्ने भन्दै आवश्यक परे निकुञ्ज खारेज गर्नुपर्ने धारणा व्यक्त गरे ।
हात्तिदमार घुइयावारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएका बाघका कारण स्थानीय त्रसित भएर बाँच्नु परिरहेको बताए । दीर्घकालीन समाधनका लागि निकुञ्जले बाघको संख्या व्यवस्थापन गर्नुपर्ने तथा वन्यजन्तु बाहिरिनुको कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।
यता डिभिजन वन कार्यालय सल्यानले बाघ नियन्त्रणका लागि टोली लागिपरेको बताएको छ । अहिले पनि बाघ देखिइरहेको र त्यसको ट्याकिङ गर्ने काम विज्ञ टोलीबाट भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । बाघको आक्रमणमा मृत्यु भएका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनका लाग निर्देशनालयमा पत्राचार भइसकेको र निर्देशनालयले पैसा पठाउनेबित्तिकै पीडित परिवारलाई वितरण गरिने उनको भनाइ छ ।





.jpg)