होमपेज / समाज
मंसिरदेखि माघसम्म पटक पटक गरी सल्यानका विभिन्न स्थानमा स्थानीयले अवैध रुपमा लुकाएर राखेको ४६ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा खोजतलास गर्दा बन्गाड कुपिण्डे नगरपालिका १०, ११, १२ बाट १५, त्रिबेणी गाउँपालिका १ काभ्राबाट १०, वडा ५ शान्ति सामुदायिक वनबाट ६ र अन्य पालिकाबाट १५ गरी ४६ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले बताए ।
बरामद गरेका बन्दुकको कसैको पनि इजाजत नभएको उनले बताए । उनका अनुसार स्थानीयले शिकार खेल्नका लागि भरुवा बन्दुक प्रयोग गर्दै आएको र घरमा थाहा पाउने भएकाले जंगलमा लुकाएर राखेका थिए। बरामद गरेका केही थान प्रयोग गर्न नमिल्न अवस्थामा रहेको उनले बताए ।
आसन्न निर्वाचनका बेला लाइसेन्स भएका बन्दुक बुझाउन जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना गरे पनि जम्मा दुई जनाले मात्र बुझाएको उनले जानकारी दिए। अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक स्थानीयको भए पनि एक जनालाई मात्र पक्राउ गरिएकोमा उनी धरौटीमा छुटिसकेको उनले बताए।





.jpg)