होमपेज / समाज
सल्यान,११ पौष
सल्यानको कालीमाटी गाउँपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतना अभियान कार्यक्रम सञ्चालन गरिएको छ । पालिकामा बालविवाह गर्नेहरूको सङ्ख्या बढ्दै जान थाले पछि बिहे वारी २० वर्ष पारी भन्ने नाराका साथ सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिको ७ वटै वडामा सञ्चालन गरिएको बालविवाह न्यूनीकरण सचेतना कार्यक्रममा १० वटा माध्यमिक विद्यालयका १ हजार २ सय ५५ जना बालबालिकाले प्रत्यक्ष सहभागिता जनाएका छन् । भने ५ सय ४१ जना अभिभावकहरू कार्यक्रमबाट सचेत बनेका छन् ।
कार्यक्रममा बालविवाहको कारण,असर,बालबालिका तथा अभिभावकको भूमिका,रोकथाम एवम् कानुनी व्यवस्थाको बारेमा गाउँपालिकाका प्रशासकीय अधिकृत यज्ञ बहादुर खत्री र इलाका प्रहरी कार्यालय कालीमाटीका प्रहरी वरिष्ठ नायब निरीक्षक कुल बहादुर खड्काले प्रशिक्षण दिनु भएको थियो ।
कालीमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्री केसीको अगुवाइमा सञ्चालन गरिएको बालविवाह न्यूनीकरण सचेतना कार्यक्रममा सहभागी बालबालिकाले आफूले पनि बालविवाह नगर्ने र गर्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उपस्थित अभिभावकहरूले समाजमा व्यवहारिक रूपमा कुरा मिलाई बाल विवाह गर्ने गराउने गरेको कुरा स्विकार्दै अब बालविवाह प्रति सचेत हुने जनाउँदै बालविवाह न्यूनीकरणमा अहम् भूमिका खेल्ने बताएका छन् ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्ष नपुगी बालविवाह गरे वा गराएमा विवाह स्वतः बदर हुन्छ, र कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार सम्म जरिवाना हुन्छ । बालविवाहको बारेमा थाहा पाएमा विवाह भएको ३ महिना भित्र जो कोहीले पनि उजुरी गर्ने कानुनी व्यवस्था रहेको छ ।।





.jpg)